ठाकुर–महतो ओलीको पुच्छर बन्दा पनि कांग्रेससँग यसरी पुग्यो सोलिट बहुमत, खाणले गरे खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले शुक्रबार प्रेस नोट जारी गरेर राष्ट्रपतिले तोकेको समयभित्र देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारका दिन संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि जेठ ७ गते शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्यलाई आव्हान गरे बमोजिम नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता तथा प्रतिनिधि सभा सदस्यको हैसियतले देउवाले प्रधानमन्त्रीमा दाबी गरेको प्रमुख सचेतक खाणले बताएका छन् ।

देउवालाई नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेका २६, जनता समाजवादी पार्टी, नेपालका १२, राष्ट्रिय जनमोर्चाका १ गरी कुल १४९ जना प्रतिनिधि सभाका सदस्यहरूको समर्थनसहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दावी पेश गरेको खाणले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायत नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेता, अन्य समर्थक दलका शीर्ष नेता र प्रतिनिधि सभाका सांसदहरू राष्ट्रपति कार्यालयमा पुगेर दावी पेश गरेको प्रेस नोटमा उल्लेख छ ।

कांग्रेस सभापति देउवालाई जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको समर्थन नहुँदा पनि देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

एमालेका अध्यक्ष एवम् कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि प्रधानमन्त्रीमा दाबी गर्दै एमालेका १२१ सांसद र जसपाको ३२ सांसदको हस्ताक्षर बुझाएका छन् ।

ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीका लागि ओलीले १५३ सांसदको समर्थन रहेको दाबी गरेका छन् ।

एमालेका वरिष्ठ नेता माधव नेपालसँग २६ सांसद रहेका छन् । उनीहरूले देउवालाई साथ दिएका छन् । उपेन्द्र यादवले पनि देउवालाई साथ दिएका छन् । ओलीले उपेन्द्र यादवका १२ जना सांसदलाई पनि आफूतिर गाभेर कीर्ते गरेका छन् ।

एमालेका २६ जना सांसदले देउवालाई समर्थन गर्दा ओलीसँग ९५ सांसद मात्रै हुन्छन् । महन्थ ठाकुर र राजेन्द्र महतोसँग २० सांसद हुन्छन् ।

ओलीका ९५ र ठाकुर–महतोका २० सांसदको कुल संख्या जम्मा ११५ मात्रै हुन्छ । ओली अल्पमतमा हुँदाहुँदै उपेन्द्र यादवका सांसदहरूको हस्ताक्षर कीर्ते गरेर प्रधानमन्त्रीका लागि दाबी गरेका छन् ।

ओलीले बहुमत पुग्न नसक्ने भएका कारण विश्वासको मत नलिएर विपक्षी दलहरूलाई सरकार बनाउन राजीनामा पनि नदिएर मार्गप्रशस्त गरेको बताएका थिए । अहिले आएर उपेन्द्र यादवका सांसदहरूको हस्ताक्षर कीर्ते गरेर के गर्न खोजेका हुन् रहस्य बनेको छ ।

ओली अल्पमतमा पुगिसकेका छन् । राष्ट्रपति भण्डारीले निष्पक्ष रुपमा आफ्नो गरिमा बचाएर निर्णय लिन्छिन् वा ओलीलाई साथ दिएर संविधान उल्लंघन गर्छिन् हेर्न बाँकी छ ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले ट्वीट गर्दै भनेका छन्, ‘यदि ओलीलाई १५३ जनाको समर्थन थियो भने किन विश्वासको मत नलिएको ?
देउवाको समर्थनमा १४९ जनाले हस्ताक्षर गरेपछि कीर्ते दावी गर्ने ? एमालेका २६ र जसपाका १२ सांसदले हस्ताक्षर गरी माधव नेपाल र उपेन्द्र यादव शीतलनिवास नै गएका छन् । कीर्ते र निर्लज्जताको योभन्दा पराकाष्ठा अरू के हुनसक्छ ?’

Published : Friday, 2021 May 21, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया