कांग्रेस सांसद परियारले वीना मगरलाई र्‍याखर्‍याख पारिन्, जवाफ दिन मन्त्रीलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता परियारले खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानीको विषयमा काम गर्न नसकेको भनेर आलोचना गरेकी छिन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा खानेपानीमन्त्री वीना मगरलाई प्रश्न गर्ने क्रममा कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकि सांसद परियारले खानेपानीको समस्याबाट देशभरिका जनता समस्यामा रहेको बताइन् । परियार खानेपानी तथा सरसफाइ छायाँमन्त्री पनि हुन् ।

‘आगामी वर्षमा आधारभूत खानेपानी ९४ प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य सारिएको छ’, सांसद परियारले भनिन्, ‘मेलम्ची खानेपानी आयोजना आगामी वर्ष शुरु गरी काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने भनिएको छ । पटक–पटक मेलम्ची आयोजना सम्पन्न गरी जनतालाई खानेपानी खुवाउने कुरा भनिएको छ । तर, अहिले सम्म जनताले पानी खान पाएका छैनन् ।’

‘काठमाडौं उपत्यकामा पानीको हाहाकार छ’, उनले भनिन्, ‘जनतालाई आश्वासन मात्रै बाँड्ने काम भएको छ । आश्वासन मात्रै दिने हो कि पानी पनि खुवाउने मन्त्रीज्यू ।’
‘काठमाडौं उपत्यकाबासी जनताले मेलम्चीको पानी कहिले खान पाउँछन् ? कांग्रेस सांसद परियारले प्रश्न गर्दै भनिन्, ‘मेलम्ची आयोजना कहिले पूरा हुन्छ ?’

सांसद परियारले नेपालको संविधानले स्वच्छ पिउने पानी प्राप्त गर्ने संविधानले स्पष्ट व्यवस्था गरेको स्मरण गराउँदै सरकारको काम जनतालाई स्वच्छ पानी दिने हो कि होइन भनेर प्रश्न गरेकी छिन् ।

देशको राजधानी काठमाडौं, सांसद भवन, सिंहदरबारभित्रका सफा खानेपानीको अभाव हुँदा सफा पिउने पानी खान मिनरल वाटर खानुपर्ने बाध्यता रहेको कांग्रेस सांसद परियारले बताइन् । उनले सिंहदरबारभित्र मिनरल वाटर खाने अवस्था छ भने बहिारका जनताको अवस्था कस्तो होला भनेर आक्रोश पोखेकी छिन् । उनले स्वच्छ पिउने पानी जनताको घरमा कहिलेसम्म आउँछ भनेर मन्त्री मगरको ध्यानाकर्षण गराएकी छिन् ।

मेलम्ची खानेपानी आयोजनामा व्यपाक अनियमितता र भ्रष्टाचार भएको सांसद परियारको भनाइ छ । उनले मेलम्चीको भ्रष्टाचार कहिले बन्द हुन्छ भनेर प्रश्न उठाएकी छिन् । सरकारले जनताको जीवनसँग खेलवाड गरेको भन्दै कांग्रेस सांसद परियारले भनिन्, ‘जनताले स्वच्छ पानी कहिले पिउन पाउँछन् ?’

कांग्रेस सांसद परियारको प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले गोलमटोल रुपमा जवाफ दिएकी थिइन् । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना छिटै पूरा हुने बताएकी छिन् । उनले मेलम्चीको पानी छिटो काठमाडौंमा ल्याउन प्रयासरत रहेको बताइन् ।

साढे दुई वर्ष अगाडि मन्त्री मगरले मेलम्चीको पानी दशैँमा खुवाउने बताएकी थिइन् । मगरले पानी त ल्याउन सकिनन् । तर, कमिशनको चक्करमा लागेर खानेपानी मन्त्रालयका सचिव फाल्नेदेखि ठेकेदारलाई हटाएर नयाँ ठेकेदार भित्र्याएको चर्चा छ ।

Published : Tuesday, 2020 June 9, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया