तरकारी, फलफूल, चामल, सिलिण्डर कसरी कोरोना मुक्त बनाउने ?

काठमाडौं । दैनिक उपभोग्य सामग्रीलाई कोरनो भाइरसको संक्रमण रहित बनाउन चिकित्सकहरूले विभिन्न सुझावहरू दिएका छन् ।

कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला यो भाइरसबाट बच्नका लागि चिकित्सकहरूले विभिन्न उपाय दिँदै आएका छन् ।

डा.रविन्द्र पाण्डेले हातमा पञ्जा लगाएर सुरक्षित रूपमा ग्यास ल्याउन सुझाव दिएका छन् । उक्त ग्यासलाई घरबाहिर साबुन पानीले सफा गर्नुपर्ने उनले बताएका छन् ।

ओभानो गरेर स्प्रिट वा डिटोल पानीले सफा गर्न सुझाव दिइएको छ ।

त्यसपछि सिलिण्डरलाई आधा घण्टा घाममा राखेर घरभित्र ल्याउनुपर्ने भन्दै डा.पाण्डेले हात राम्रोसँग धुन सुझाव दिएका छन् ।

‘दाल, चामललगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने र त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने’, डा.पाण्डेले बताएका छन् ।

‘तरकारी तथा फलफूल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफूले साबुनपानीले हात धुने, तरकारी तथा फलफूललाई २० मिनेटदेखि आधा घण्टासम्म घाममा राख्ने । त्यसपछि भाँडोमा राख्ने’, उनले भनेका छन्, ‘यसरी राखेपछि मनतातो पानी राख्ने, त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने । तरकारी, फलफूल सफा गर्ने Vaggy wash भए झन् राम्रो, आधा घण्टापछि धारोको पानी (Running Water)मा मिचिमिची सफा गर्ने । सुक्खा राख्ने, यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ, खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन । योबाहेक क्लोरिन पानी र पियूषको केही थोपा राखेर सफा गर्न पनि सकिन्छ ।’

‘प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लिच पानीले पनि सफा गर्न सकिन्छ । केही विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसँग सफा गरे ब्लिच मिसाउनु पर्दैन । चिसोपानीले राम्रोसँग धोए पनि हुने भनाइ केही विज्ञको छ । यो आफ्नो–आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ’, डा.पाण्डेले सल्लाह दिएका छन् ।

‘आलु, स्याउ, गाँजरलगायत कडा सतह भएका फलफूल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले विस्तारै सफा गर्न सकिन्छ’, उनले भनेका छन्, ‘अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।’

‘फलफूल तथा तरकारीलाई काट्नुअघि राम्रोसँग धुन जरुरी छ’, डा.पाण्डेले भने ।

‘सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै, बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ’, डा.पाण्डेले सुझाव दिएका छन् ।

‘खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ । रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन’, डा.पाण्डेको सुझाव छ ।

‘तरकारी, फलफूल तथा अन्य खानेकुरा सफा गर्दा गम्भीर हुन जरुरी छैन, माथि उल्लेख गरेका उपायमध्ये आफूसँग उपलब्ध विधि अपनाए हुन्छ’, डा.पाण्डेले भनेका छन्, ‘सबैभन्दा उपयुक्त विधि भनेको पटक–पटक हात धुने हो । सरसफाईमा ध्यान दिने हो ।’

Published : Monday, 2020 April 6, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया