आत्मसमर्पण गरेका हुन् या पक्राउ परेका हुन् समिरमान ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई पक्राउ गरेपछि केही रोचक तथ्यहरू आउन थालेका छन् ।

प्रकाउ परेका ३४ वर्षीय बस्नेतले प्रहरीमा छाती फुलाएर बयान समेत दिएका छन् । बस्नेतले भनेका छन्, ‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो । सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो । मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं । हामीसँग छैन ऊ ।’ सबैभन्दा अचम्मको कुरा त के छ भने बस्नेत बिगतमा प्रहरी संरक्षणमा नै गुण्डागर्दी गर्दथे भने उनका आफन्त पर्ने केही प्रहरीको आडमा बिरोधी ग्याङलाई कुनै न कुनै मुद्दा लगाएर फसाउँदै असुली धन्दालाई बढवा दिंदै आएका थिए ।

बिगतमा प्रहरीले गुण्डा नाइकेहरू दावा लामा, मिलन चक्रे, रमेश बाहुन जस्ता बस्नेतका बिरोधीलाई पक्राउ गर्दा लागुअौषध र हतियार बरामद गरेको थियो । बस्नेतका शत्रु अर्का गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को त प्रहरी इन्काउन्टरमा मृत्‍यु भैसकेको छ । लागु औषध सेवनकर्ता र १५–२० जनाको हतियारधारी समूह चलाउने बस्नेतलाई चितवनबाट पक्राउ गरेको बताउने सिआईबीले उनको साथबाट केही पनि बरामद् गर्न नसकेको हो वा बस्नेतले आत्मसमर्पण गरेका हुन ? अचम्मको विषय बनेको छ ।

समिरमान बस्नेतले विदेशमा नै बसेर अपराधिक गतिविधी गर्ने र ती गतिविधीलाई लुकाउन प्रहरीदेखि राजनीतिक दलसम्मको सेटिङ मिलाउने गरेको देखिएको छ ।

समिरमानले कुनै पनि अपराधिक समूहसँग काम नहुन्जेल सम्बन्ध राख्ने र त्यसपछि छुट्ने गरेको देखिएको छ । पुनसँगको सम्बन्ध पनि कमिशनमा विवाद बढेपछि छुटेको प्रहरीले जनाएको छ ।

सिआईबीले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर बस्नेतको बयानको अडियो सार्वजनिक गर्‍यो । समिरमानले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएको आइतवार आयोजित पत्रकार सम्मेलनमा डिआइजी पुष्कर कार्कीले बताए । समिरले गौचन र तिवारीको हत्या मात्र होइन गत चैत २९ गते गुह्येश्वरी फाँटमा दावा लामालाई गोली हानेको समेत प्रहरी समक्ष स्वीकार गरेको कार्कीले बताएका छन् ।

यसरी प्रहरीकै सामुन्ने छाती फुलाएर गर्वका साथ दुई जनाको हत्या र एक जनामाथि गोली हान्न लगाएको स्वीकार गर्ने अपराधिक पृष्ठभूमिका बस्नेत कहाँबाट कसरी संचालित छन् ? अर्को रहस्यको विषय बनेको छ ।

प्रहरीको अनुसन्धान र समिरको बयान अनुसार गौचनको हत्या योजना समिरमानले बनाएको र लोप्साङले कार्यान्वयनमा मुख्य भूमिका खेलको देखिन्छ ।

विगत साढे दुई वर्षदेखि समिर देश बाहिर बसेर नेपालभित्र आपराधिक गतिविधी गर्दै आएको प्रहरीको दावी छ । समिरमान बस्नेत र मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधी गरेको भनिए पनि समिरले भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी गरेका छन् । पुन दुर्गा तिवारीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा छन् ।

दुई महिनासम्म भारतको गोवामा बसेर सुराकी गरी बस्नेतलाई नेपाल ल्याउन सफल भएको सिआईबीको टोलीले किन लोप्साङ, रोशन बुढाथोकी, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, सुटर अम्बरबहादुर राना र अजय थापालाई पक्राउ गर्न सकेन ? प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए ।

Published : Monday, 2017 December 4, 4:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया