कम्युनिष्ट शासनले धर्म र संस्कृतिमाथि प्रहार गर्छ : देउवा

झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरू धर्म र संस्कृति बिरोधी रहेको भन्दै लोकतन्त्र पक्षधर लाई भोट दिन आह्वान गरेका छन् ।

नेपालका १६औं विभूती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ३३औँ जन्म जयन्तीका अवसरमा पाँचथरको लब्रेकुटीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरूको शासन आयो भने सबैभन्दा पहिला धर्ममाथि प्रहार गर्ने बताए ।

देउवाले भने, ‘कम्युनिष्ट नेताहरूले भने जस्तो शासन आयो भने हालसम्मका आन्दोलन र क्रान्तिहरूका माध्यमबाट प्राप्त सबै नागरिक हकअधिकार गुम्छ ।’ उनले नेपालमा माओवादी केन्द्र र एमालेवीच बाम गठबन्धन गरी कम्युनिष्ट शासन ल्याउन खोजेको बताए ।

‘सबै जाति र भाषाभाषीको जगेर्ना र लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेसले मात्र गर्छ’, उनले भने, ‘कांग्रेस विजय भयो भने लोकतन्त्रको रक्षा हुन्छ ।’ उनले फाल्गुनन्दको तपोभूमिमा किराँत संस्कृतिक तथा अध्ययन केन्द्र तथा विश्वविद्यालय खोल्ने आश्वासन समेत दिए ।

कम्युनिष्ट पार्टीहरूप्रति आक्रमक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने बताए । ‘बोल्न, लेख्न पाउने, डर, त्रासको शासनविनाको शासन मात्र कांग्रेसको लक्ष हो’, देउवाले भने ।

मंसिर १० र २१ गतेको निर्वाचन कम्युनिष्ट र लोकतन्त्र पक्षधरबीचको जनमत संग्रहण जस्तै भएको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस बाहेक अर्को कुनै शक्ति प्रजातान्त्रिक पक्षधर छैन ।’

प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने बताए ।

उनले कम्युनिष्टहरूले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलका अभिव्यक्ति दिएको बताए ।

Published : Saturday, 2017 November 11, 7:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया