एमालेसँग डराएर कांग्रेस माओवादीसँग मिल्यो : एमाले

काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेलले कांग्रेस र माओवादीको महागठबन्धन मुलुकका लागि अहितकारी रहेको टिप्पणी गरेका छन् । उनले महागठबन्धन अप्रकृतिक र अप्रत्यासित रहेको बताए ।

पार्टी मुख्यालय धुम्रबाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमालेसँग डराएर कांग्रेस र माओवादीले महागठबन्धन बनाएको दाबी गरे ।

‘कांग्रेस र माओवादीले बनाएको महागठबन्धनले देशको हित गर्दैन’, उनले भने, ‘एमालेसँग डराएर महागठबन्धन बनाइएको छ । महागठबन्धनलाई छिमेकी राष्ट्रको समेत समर्थन छ ।’

वीरगञ्ज महानगरपालिकामा एमालेका उम्मेदवार बसिरुद्धिन अन्सारीलाई ज्यानको खरतरा रहेको बताएका महासचिव पोखरेलले भने, ‘एमालेका थुप्रै उम्मेदवारहरूलाई ज्यानको खतरा छ । सरकारसँग कुरा गरेका छौँ ।’

२ नं. प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका पोखरेलले भने, ‘हामी योजनाबद्ध रणनीतिका साथ निर्वाचनमा गएका छौँ । हाम्रा निर्वाचनसम्बन्धी गतिविधिहरू भइरहेका छन् ।’

महोत्तरीसहितका जिल्लाहरूमा विवादका कारण उम्मेदवारहरूको टुंगो लगाउनु नसेको भन्दै महासचिव पोखरेलले बुधबार बिहानसम्म टुंगो लाग्ने बताए ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने भनिए पनि निर्वाचन आचार संहिताका कारण अनुपस्थित भएको जानकारी दिइएको थियो ।

Published : Tuesday, 2017 September 5, 5:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया