नर्भिक अस्पतालमा बालिकाको मृत्यु, स्थानीय प्रशासनले लियो एक्सन

काठमाडौं । नर्भिक अस्पतालमा भएको बालिकाको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठित छानविन समितिमा जिल्ला प्रशासन कार्यालयका कानून अधिकृत, सिभिल अस्पतालका बाल रोग विशेषज्ञ, नेपाल मेडिकल काउन्सलका प्रतिनिधि, महानगरीय प्रहरी प्रभाग, काठमाडौंका डीएसपी तथा मृतककी बुवा डा रमेश आचार्य स्वयंम सदस्य रहेका छन् ।

प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बुधवार बिहान जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा भएको छलफलबाट उक्त समिति गठन गरिएको हो । समितिलाई सात दिन भित्रमा रिपोर्ट पेश गर्न भनिएको छ ।

तीन दिनअघि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएकी १६ महिने बालिका भिक्टोरिया आचार्यको मंगलबार दिउँसो उपचारका क्रममा मृत्युु भएपछि मृतकका परिवारले अस्पतालको लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरेका थिए ।

मृतकका परिवारले ठूलो साइजको पाइप मुखबाट जवर्जस्ती छिराएकै कारण अधिक रक्तश्राव भएर बालिकाको मृत्यु भएको आरोप लगाउँदै आएका थिए । पीडित बालिका केही दिन अघिदेखि निमोनियाबाट ग्रसित थिइन् ।

पीडित पक्षले बालिकाको उपचारमा संलग्न डा विनिता जोशी, डा ऋतु लामिछाने लगायतका चिकित्सकलाई कडा कारवाहीको माग राख्दै आएका छन् ।

Published : Friday, 2017 September 1, 11:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया