संगीतकार ‘सुरेश–महेश’को यस्तो छ चर्तिकला, कान्छी पत्नीलाई ‘तालाचाबी’

काठमाडौं । श्रष्टाहरूको हकहितका लागि काम गर्न स्थापना भएको ‘संगीत रोयल्टी संकलन समाज नेपाल’मा अचम्मको भाँडभैलो भएको छ ।

दुई कार्यकालदेखि अध्यक्ष रहेका सुरेश अधिकारी र महासचिव महेश खड्का मिलेर समाजको प्रमुख व्यवस्थापकमा महासचिव खड्काकी पत्नीलाई जागिर खुवाएको रहस्य खुलेको हो ।

स्रोतका अनुसार अध्यक्ष अधिकारी र महासचिव खड्काले गुपचुपमा पदपूर्तिको सूचना निकालेर रातारात खड्काकी कान्छी पत्नी मीनाक्षी कोइरालालाई जागिर खुवाएको स्रोतको भनाई छ । सो पदका लागि अरु कसैलाई पनि आवेदन हाल्न दिइएको थिएन ।

आवेदन दिन आएका उम्मेदवारहरूलाई म्याद सकियो भनेर फिर्ता पठाइएको एक सदस्यले जानकारी दिए । सूचना निकालेर मीनाक्षी कोइरालाको मात्रै निवेदन हाल्न लगाइएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

‘महासचिव महेश खड्काकी कान्छी पत्नीलाई संगीत रोयल्टी संकलन समाज नेपालको प्रमुख व्यवस्थापकमा गुपचुप नियुक्त गर्ने निर्णय भएको छ’, समाजका एक पदाधिकारीले भने, ‘यो विषयमा धेरैको असहमति थियो । अध्यक्ष सुरेश अधिकारी र महासचिव महेश खड्काले दवावमा कोइरालालाई नियुक्त गर्न दवाव दिएका हुन् ।’

यही विषयले रोयल्टी संकलन समाज फुटको संघारमा पुगेको छ । असन्तुष्ट पक्षले यस्तै प्रकारको अर्को समाज खोल्ने चेतावनी दिइसकेको छ । सुरेश अधिकारी र महेश खड्का एमाले निकट संगीतकार हुन् । उनीहरू बेलाबेला एमालेको झण्डका बोकेर हिँड्ने गरेका छन् ।

यसअघिकी प्रमुख व्यवस्थापक अंकिता श्रेष्ठले पदबाट राजीनामा दिएकी थिइन् । श्रेष्ठलाई राजीनामा दिन अध्यक्ष अधिकारी र महासचिव खड्काले नै दवाव दिएको स्रोतको भनाई छ । आफ्नी कान्छी पत्नीलाई जागिर खुवाउन श्रेष्ठलाई हटाइएको स्रोतले जानकारी दियो ।

प्रमुख व्यवस्थापक मीनाक्षी कोइरालाले मासिक ३० देखि ३२ हजारसम्म तलव भत्ता बुझ्ने गरेकी छिन् । उनले जागिरको सुरुवात गरेको तीन महिनाभन्दा धेरै भइसकेको छ । मीनाक्षीले समाजमा खासै सकारात्मक कामहरू गर्न नसकेको कार्यसमितिका सदस्यहरूको आरोप छ । सरकारले समाजलाई तीन लाख रुपियाँ दिँदै आएको छ ।

यसअघि नर्वेले झण्डै चालीस लाख रुपियाँ समाजलाई सहयोग गर्दै आएको थियो । समाजभित्रको अपारदर्शी गतिविधि बढेको भन्दै नर्वेले सहयोग रकम रोकिदिएको एक पदाधिकारीले बताए । समाजभित्रको अपारदर्शी कामको ठूलो विरोध हुँदै आएको छ ।

यसैबीच, समाजका अध्यक्ष सुरेश अधिकारीले रोल्यटीको १ लाख ७० हजार बेरुजु फछर््यौट गरेका छैनन् । दुई कार्यकालदेखि अध्यक्षको पद अठ्याएर बसेका अधिकारीलाई पटक–पटक बेरुजु फछर््यौटका लागि दवाव पर्दै आएको छ ।

तर, उनले त्यो रकमका बारेमा सुन्न पनि चाहँदैनन् । समाजभित्र अनियमितता गरेको भन्दै अध्यक्ष अधिकारीविरुद्ध केही श्रष्टाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने तयारी समेत गरेका छन् ।

Published : Thursday, 2017 September 21, 9:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया