आक्रमणबाट एमाले वडाध्यक्षको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति मृत्यु भएको छ ।

गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो ।

आक्रमणबाट गम्भीर घाइते हुनुभएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौंमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला पर्नुभएको थियो ।

एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमासमेत हुनुहुन्छ । उहाँ जिल्लामा सामाजिक अभियन्ताको रूपमा समेत परिचित हुनुहुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले उहाँ माथि आक्रमण गर्ने दोषीको खोजी भइरहेको बताउँदै अपराध अनुसन्धान ब्यूरो (सिआइवी) ले पनि घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

Published : Saturday, 2017 August 26, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया