ओखलढुंगा कांग्रेसले पायो आफ्नै भवन, नेता कार्यकर्ताले खुसी साटे
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको पार्टी कार्यालयको नयाँ भवनमा बिहीबारदेखि पार्टीसम्बन्धी कामकाजको सुरुवात भएको छ ।
बिहीबार बिहान बन्दै गरेको पार्टी कार्यालयको नयाँ भवनमा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, पार्टी सभापति प्रदीप सुनुवारसहितका नेताहरूले पार्टीको कामकाजको सुरुवात गरेका हुन् । उनीहरूले भवनको पूजा समेत गरेका थिए ।
पूर्वसांसद खतिवडाले ओखलढुंगाका नेता कार्यकर्ता र शुभेच्छुकहरूको योगदानले कांग्रेस पार्टीको आफ्नै भवन बनेको भन्दै खुसी व्यक्त गरे । उनले भवन निर्माणको काम पूरा भएपछि औपचारिक रुपमा भव्य कार्यक्रम गरेर उदघाटन गरिने बताए ।
कांग्रेसका युवा नेता खतिवडाले पार्टीका पूर्वसभापतिद्वय महेश कोर्मोचा र गोमा केसीले पार्टी कार्यालयको नयाँ भवन बनाउन ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए ।
पार्टी सभापति सुनुवारले सबैको मेहनत र सहयोगले कांग्रेसले नयाँ भवन पाएको बताए । उनले सहयोग गर्ने सबै शुभेच्छुक र पार्टीका नेता कार्यकर्ताहरूलाई धन्यावाद दिएका छन् ।
‘अबदेखि पार्टीको बैठक, कार्यक्रम र दैनिक प्रशासनसम्बन्धी काम पार्टी कार्यालयबाटै हुनेछ’, सभापति सुनुवारले भने, ‘सबैको सहयोगले यो काम पूरा हुने क्रममा छ ।’
पार्टी कार्यालयको नयाँ भवन बन्दै छ । पूर्ण रुपमा पार्टी कार्यालय निर्माण भएपछि भव्य औपचारिक कार्यक्रम गरेर भवनको उदघाटन गरिनेछ ।
करीव ९० लाख खर्च भएको पार्टी कार्यालयको नयाँ भवन निर्माणका लागि पूर्वसभापति महेश कमोर्चा, पूर्वपार्टी सभापति गोमा केसीले विशेष पहल गरेका थिए ।
भवन बनाउन पूर्वसभापति केसीले केन्द्रबाट १५ लाख रुपियाँ ल्याएर भवन बनाउन शुरु गरेकी थिइन् ।
कार्यक्रममा पार्टी सचिव तेजेन्द्र खनाल, रुद्र अधिकारी लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया