दशैँ खर्च दिएर डा.शशांक काेइरालाले कुनै अपराध गरेका छैनन्, जे गरे ठीक गरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अनलाइन खबरका पत्रकार राजकुमार श्रेष्ठलाई १५ हजार दशैँ खर्च दिएको विषयले सामाजिक सञ्जालमा बबण्डर मच्चिएको छ । अनलाइन खबरमा पत्रकार श्रेष्ठले सबै विवरणसहित समाचार लेखेपछि महामन्त्री डा.कोइरालाको दशैँ खर्च काण्ड बाहिर आएको छ ।

महामन्त्री डा.कोइराला पहिलो व्यक्ति होइनन् पत्रकारलाई दशैँ खर्च वितरण गर्ने । दशैँ खर्च अधिकांश पत्रकारले कुनै न कुनै नेता, संघ, संस्था, व्यापारी वा व्यक्तिहरूसँग पाएका छन् । अरुले जस्तो डा.कोइरालाले रक्सी बाँडेका छैनन् । रक्सी खुवाएका छैनन् । पैसा मात्रै दिएका हुन् । त्यो पनि कोरोना महामारीका बेला आफ्नो सम्झिएर ।

डा.कोइरालाले पत्रकार श्रेष्ठलाई दशैँ १५ हजार रुपियाँ दिएर कुनै अपराध पनि गरेका होइनन् । हो पत्रकार श्रेष्ठलाई त्यसरी पैसा दिएको चित्त बुझेन । राम्रो लागेन । उनले पैसा बैंकमार्फत फिर्ता गरिदिए । समाचारमा सबै विवरण सार्वजनिक गरे ।

त्यही अनलाइन खबरका पत्रकारहरूलाई १५ हजार दशैँ खर्चको समाचार सार्वजनिक गरेको कुरा मन पनि नपरेको हुन सक्छ । छिटफुट बाहेक नेपालका पत्रकारहरूले दशैँ खर्च लिन्न भनेको कुरा धेरै बाहिर आएका छैनन् । आउँदैनन् पनि ।

कोरोना महामारीका बेला कांग्रेसका महामन्त्री डा.कोइरालाले पत्रकार श्रेष्ठलाई दशैँ मनाउन समस्या छ कि भनेर पठाइदिनु उनको गल्ती छैन । हो पत्रकार श्रेष्ठ आर्थिक रुपमा सक्षम रहेछन् । उनलाई त्यो १५ हजार आवश्यक परेन इमान्दारिताका साथ फिर्ता गरिदिए । यो उनको महानता हो । तर, श्रेष्ठले आकाशै खसे जसरी समाचार लेखेर घटना सार्वजनिक गर्नु आवश्यक थियो या थिएन विचारणीय छ ।

के पत्रकारहरूले दशैँमा खाममा खर्च लिएका छैनन् त ? वितगमा पनि पत्रकारहरूले दशैँ खर्च लिएका छैनन् त ? लिएका छन् । लिन्छन् । भविष्यमा पनि लिनेछन् । कसैले दशैँ जस्तो ठूलो चाडबाडमा खर्च दिन्छ भने लिनुपर्छ । पत्रकार पनि मानिस नै हो । धेरै पत्रकारहरूलाई सञ्चारगृहका मालिकले समयमा पैसा नदिएर बिचल्ली बनाएका छन् ।

हो कुनै पत्रकारसँग पैसा छ भने उसले दशैँ खर्च नलिन सक्छ । त्यो उसको अधिकारको कुरा हो । नाम चलेका ठूला पत्रकारहरूले दशैँ खर्च लिने गरेका छन् । लिन्छन् पनि । महामन्त्री डा.कोइरालाको १५ हजारका विषयमा बबण्डर गर्नुपर्ने आवश्यक्ता छैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र सरकारका मन्त्री एवम् सांसदहरूले पनि खाममा पैसा हालेर दिएका छन् । दिन्छन् । भविष्यमा पनि दिइरहनेछन् । दशैँमा खर्च दिने कुरा परम्परा जस्तै भइसक्यो । त्यही कारण कांग्रेसका महामन्त्री डा.कोइरालाले दशैँ खर्च भनेर पत्रकार श्रेष्ठलाई आफ्नै नजिकको मान्छे सम्झिएर पठाएको १५ हजारका विषयमा धेरै बबण्डर मच्चाउनुको अर्थ छैन । श्रेष्ठलाई चित्त बुझेन उनले सो रकम फिर्ता गरिदिए । त्यति मात्रै होइन समाचार नै लेखेर आफ्नो धारणा राखेका छन् ।

हुन त महामन्त्री डा.कोइरालाका स्वकीय सचिव भरत तिवारीले राजकुमार भन्ने साथीलाई दिने पैसा भुलबस अनलाइन खबरको पत्रकार राजकुमारलाई पर्न गएको भन्दै स्पष्टीकरण दिएका छन् ।

उनको स्पष्टीकरण जे भए पनि महामन्त्री डा.कोइरालाले दशैँ खर्च दिएर कुनै ठूलो भुल गरेका छैनन् । उनले मानवता देखाएर पैसा पठाएका हुन् । डा.कोइरालाको सचिवालयले खण्डन गर्नुपर्ने आवश्यक्ता छैन ।

कुरै गर्ने हो भने प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना महामारी भएदेखि तलब लिएका छैनन् । तलब नलिएका प्रधानमन्त्री ओलीले अहिलेसम्म के पैसाले खाएर बसेका छन् ? गम्भीर प्रश्न उठ्छ । नेकपाका सांसद नारायणकाजी श्रेष्ठले पनि तलब, भत्ता लिएका छैनन् । उनले पनि अहिलेसम्म के पैसाले खाएर बसेका छन् । यस्ता कुराको जिज्ञासा धेरै हुन सक्छन् ।

कुरा र कुलोलाई जता लग्यो त्यतै जान्छ । दशैँमा कसैले मानवता र सदासयताका साथ आफ्नो मान्छे ठानेर खर्च दिन्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन । महामन्त्री डा.कोइरालाको सचिवालयले दशैँ खर्च दिने पात्र सहि छान्न सकेनन् कि त्यसतर्फ ध्यान दिनुपर्छ । यो विषयलाई धेरै उचाल्नुपर्ने वा पछार्नुपर्ने छैन । डा.कोइरालाले कुनै अपराध गरेका छैनन् । अपराध पनि होइन ।

Published : Wednesday, 2020 October 21, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया