कोशीमा एमाले-माओवादीले लफडा गरेपछि कार्कीले दिए अपीलसहितको चेतावनी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपील गरेका छन् ।

शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्वदलीय सरकार बनाएर संघीयताको अभ्यास गर्न अपील गरेका हुन् ।

उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प प्रस्ताव संविधान विपरीत भएको भन्दै आफू संविधानभन्दा बाहिर नहिँड्ने बताएका छन् ।

यसैबीच, कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको छ ।

संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्ने सो प्रस्तावमा उल्लेख छ ।

संकल्प प्रस्ताव पारित भएपछि एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत विभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए ।

संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए । सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन् । मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन् ।

अर्कोतर्फ मुख्यमन्त्री कार्कीले प्रदेश सभाको बैठकमा संकल्प प्रस्ताव संविधान विपरीत आएको भन्दै आफू संविधानको धारा भन्दा बाहिर नजाने बताएका छन् ।

उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफूले राजीनामा नलिने र विश्वासको मत पनि नलिने बताउँदै आएका छन् ।

Published : Friday, 2024 April 19, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया