रवि लामिछानेले टिभीको लोभ देखाएर सोझो जीबी राईलाई फसाए : सभापति बानियाँ

इमाडोल । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले १५औँ महाधिवेशनभन्दा अगाडि विधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुर क्षेत्र नं. २ (१) नेपाली कांग्रेसको प्रदेश कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले कांग्रेसलाई समय सापेक्ष बनाउन विधान संशोधन आवश्यक रहेको बताए । उनले टिकट वितरण, नेताहरूको व्यवस्थापन लगायतका विषयमा अधिकार विनियोजन हुनुपर्ने बताए ।

उनले भने, ‘नियम र पद्धति मास्नेलाई जो कोही भए पनि कानूनको दायरामा आउनु पर्छ भन्ने कांग्रेसको मान्यता हो ।’

‘पछिल्लो समयमा दिन प्रतिदिन हाम्रो पार्टीभित्र पनि अनुशासन, नियम र पदलाई पनि प्राथमिकता दिने पद्धतिलाई भन्दा पदलाई प्राथमिकता दिने जुन आयो, यो पार्टीमा नभए अर्को पार्टीमा जाने, नयाँ पार्टी आए, अवसर पनि नयाँ आएकी भनेर त्यतैतिर ठीक हो कि भनेर लागेका छन्’, सभापति बानियाँले भने ।

‘नयाँ पार्टी भन्नेहरूको पनि हर्कत देखिसकिएको छ’, बानियाँले भने, ‘हाम्रो पार्टीभित्र नेताहरूले बनाएको नियम र परम्परा तीन पुस्ताभित्र राम्रो देखिएको छ ।’

उनले भने, ‘हामीले हाम्रो विधानलाई संशोधन गर्नुपर्छ । १५औँ महाधिवेशनभन्दा अगाडि विधानलाई संशोधन गर्नुछ । २०८४ को निर्वाचन अगाडि मुलुकको संविधान संशोधन गर्नुछ ।’

‘यो संविधान नै अस्थिरताको जड छ । संविधान संशोधन गर्दै जाँदा त्यसको नेतृत्व कांग्रेसले लिनुपर्छ’, उनले भने । ‘अस्थिरताको जड माओवादी देखिएको छ । अस्थिरताको जड समाप्त गर्ने हो भने संविधान संशोधन गरौँ’, उनले भने ।

‘प्रत्यक्ष निर्वाचन प्रणालीमा हामी जान तयार छौँ । त्यसको नेतृत्व गर्न तयार छौँ । हिम्मत छभने माओवादी संविधान संशोधन गर्न आउनु पर्छ’, उनले भने ।

‘हिम्मत छभने यो नयाँ भन्ने पार्टी निर्वाचन प्रणाली संशोधन गर्न लागौँ । एमाले लागौँ । कांग्रेसले साथ दिन चाहन्छ । अस्थिरतामा रमाउने माओवादी, एमाले र रास्वपा छन्’, सभापति बानियाँले भने ।

रास्वपाका सभापति रवि लामिछानेले टिभीको लोभ देखाएर जीबी राईमार्फत सहकारीको अर्बौं रकम ठगी गरेको उनले बताए ।

सभापति बानियाँले भने, ‘जीबी राई जस्तो सोझो मान्छेलाई टिभी देखाएर । सहकारीको रकम ल्याएर अर्बौं रुपियाँ ठगेर टिभी चलाएको आज किन नभन्ने । जीबी राईलाई सपना देखाएर ल्याएको हो ।’

ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन संगठन निर्माणमा जोड दिनुपर्ने बताए । उनले कांग्रेसलाई बलियो बनाउने भनेको कार्यकर्ताहरूले नै रहेको उल्लेख गरेका छन् ।

Published : Friday, 2024 April 19, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया