गृहमन्त्री लामिछानेको राजीनामा मागसहित प्रदर्शनीमार्गमा नेविसंघको शक्तिशाली प्रदर्शन

काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बुधबार साँझ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मूल सडकमा नेविसंघका नेता कार्यकर्ताले लामिछानेको राजीनामा माग गरेर प्रदर्शन गरेका हुन् । उनीहरूले गृहमन्त्री लामिछनेको पुत्ला पनि जलाएका छन् ।

प्रदर्शनकारी नेविसंघका नेता कार्यकर्ताले गृहमन्त्री मुर्दावाद, रवि तेरो पाराले दुःख पाए साराले जस्ता नारा लेखिएका व्यानरहरू पनि प्रदर्शन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीले नै तयार पारेको प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा दोषी पाउँदा पनि बचाउने कार्य भइरहेको आरोप छन् । लामिछानेले आफूलाई कुनै कुराको जानकारी नरहेको भन्दै सहकारी ठगीमा निर्दोष रहेको दाबी गरिरहेका छन् । यद्यपि लामिछानेविरुद्ध सहकारी ठगी काण्डमा यथेष्ट प्रमाणहरू सञ्चारमाध्यमहरूले बाहिर ल्याइदिएका छन् ।

लामिछानेका तत्कालीन व्यापारिक साझेदार गितेन्द्रबाबु राई (जीबी राई) फरार छन् । मलेशियामा लुकेर बसेका राईलाई पक्राउ गर्न प्रहरीले रेर्ड नोटिस जारी गरेको छ । गृहमन्त्री लामिछानेले जीबी राईलाई मलेशियाबाट ल्याउन कठिनाइ रहेको दाबी गरिरहेका छन् ।

जीबी राई पक्राउ पर्नेवित्तिकै गृहमन्त्री लामिछानेका बारेमा थप भण्डाफोर हुने चर्चा छ । जीबी राईसँग गृहमन्त्री लामिछाने सम्पर्कमा रहेको नेपाली कांग्रेसले आरोप लगाउँदै आएको छ ।

लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी ओली र नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरले संरक्षण गरेर राखेका छन् ।

Published : Wednesday, 2024 April 17, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया