समानुपातिक पद्धतिले अस्थिरता ल्याएपछि प्रतिनिधि सभाबाट हटाउन सभापति खतिवडाको प्रस्ताव, काे हुन् ढाडे बिरालाहरू ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधि सभाबाट समानुपातिक प्रणाली हटाउनु पर्ने प्रस्ताव गरेका छन् ।

बुधबार गृहजिल्ला ओखढुङ्गामा ‘दोस्रो ओखलढुङ्गा महोत्सव २०८१’को उद्घाटन गर्दै सभापति खतिवडाले समानुपातिक प्रणालीले गर्दा मुलुकमा राजनीतिक स्थायित्व कहिल्यै आउन नसक्ने बताए । उनले साना दलहरूलाई ढाडे बिरालोको संज्ञा दिँदै ठूला दलहरूलाई ङ्यारर…ङ्यारर…गरेर दुःख दिएको बताए ।

‘ढाडे बिरालाहरूले राज गर्ने अरु गोठालाहरूलाई ङ्यारर… गरेर लखेट्ने प्रवृत्ति अन्त्य होस् भन्ने चाहन्छु’, खतिवडाले भने ।

उनले भने, ‘हामीले संविधान सभाबाट संविधान निर्माण गर्‍यौँ । सबै जातको बनायौँ । सबै धर्मको बनायौँ । सबै वर्गको बनायौँ । सबैको प्रतिनिधित्व हुने र सरकारमा सबै पुग्ने खालको संविधान हामीले निर्माण ग¥यौँ ।’

‘तर, एउटा कुरा तपाईहरू अगाडि भन्नै पर्छ । हामीले समावेशी र समानुपातिक बनायौँ । समानुपातिक पद्धति प्रतिनिधि सभामा राख्नाले गर्दा आज सरकार कहिल्यै पनि स्थिर नहुने बाटोमा जान छाड्यो’, सभापति खतिवडाले भने, ‘हामीले स्थिर सरकार निर्माण गर्न धेरै लामो सपना देख्नुपर्ने भयो ।’

खतिवडाले भने, ‘आज पहिलो दल कुन ? दोस्रो दल कुन ? तेस्रो दल कुन ? होइन । सबैभन्दा सानो दल च्याखे राखेर राज्य सञ्चालन गर्ने । पहिलो दल र दोस्रो दल बाहिर बस्नुपर्ने अवस्था हामीले बनाएको संविधानले निर्माण हुने अवस्था आज सिर्जना भएको छ ।’

‘यो समानुपातिक पद्धति प्रतिनिधि सभामा राख्नाले हामीले अहिले धोका खाइरहेका छौँ’, उनले भने, ‘प्रतिनिधि सभा समानुपातिक होइन प्रत्यक्ष निर्वाचित हुनुपर्दछ । १६५ को ठाउँमा २४० बनाऔँ ।’

उनले भने, ‘राष्ट्रिय सभालाई प्रत्यक्ष निर्वाचित होइन, समानुपातिक प्रतिनिधित्वको राष्ट्रिय सभा बनाऔँ ।’

‘त्यसैले आज यहिँबाट अनुरोध गर्न चाहन्छु । हामी ठूला राजनीतिक दलहरू, अहिले भएका ठूला पार्टीहरू एकीकृत हुने बेला अहिले आएको छ । म आलोचना पनि कसैको गर्न चाहँदैन’, उनले भने ।

‘जसको जति क्षमता छ त्यो अनुसार आफ्ना अभिव्यक्ति दिन्छ । त्यो अनुसार आफ्ना कुराहरू राख्छन्’, उनले भने, ‘त्यो अनुसार आफ्ना भावनाहरू राख्छन् । कसैलाई चिन्ता भयो होला कहाँको माननीयले कसले केलाई के गर्‍यो ? म नेपाल सरकारको नेपालको प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशान समितिको सभापति हुँ । मेरो समितिमा प्रधानमन्त्री सदस्य हुन्छन् । मेरो समितिमा गृहमन्त्री सदस्य हुन्छ । मेरो समितिमा रक्षामन्त्री सदस्य हुन्छ ।’

उनले भने, ‘सुशासन भन्ने फाल्टै समिति थियो । अहिले राज्य व्यवस्था समितिमा सुशासन पनि आएको छ । अख्तियार त्यसैले हेर्दछ । सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान, निर्वाचन आयोग । निर्वाचन आयोगलाई हामीले अनुरोध पनि गरेका छौँ । एकचोटी समानुपातिक भएको मान्छे अर्को चोटी समानुपातिकमा नआउने एउटा कानून बनाउने कामको पनि शुरुवात गरेका छौँ ।’

‘म कसैको आलोचना गर्न चाहँदैन । मलाई कसले गाली गर्‍यो, आलोचना गर्‍यो, गरेन । मैले त्यो अनुभव गरेको छु । मेरा कारणले ओखलढुङ्गेली जनताले गाली खानु हुँदैन’, सभापति खतिवडाले भने, ‘मेरा कारणले ओखलढुङ्गाको विकास र समृद्धि कम हुनु हुँदैन’, उनले भनेका छन् ।

Published : Wednesday, 2024 April 17, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया