एसपी ज्ञवाली छोटो समय बसे, सबै दिन यसरी यादगार बनाए, भव्य विदाइ

मलंगवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख (एसपी) दयानिधि ज्ञवाली विदा भएका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले एसपी ज्ञवालीलाई विदाइ गरेको छ । विदाइका क्रममा प्रहरी कर्मचारीहरू भावुक बनेका थिए ।

एसपी ज्ञवालीले कार्यभार सम्हालेको २ महिना पनि पुगेको थिएन । छोटो समयमा ज्ञवालीले धेरैको मन जित्न सफल भएका थिए ।

एसपी ज्ञवाली सर्लाहीमा फागुन २ गते सरुवा भएर आएका थिए । उनी जति समय सर्लाहीमा बसे ती सबै दिनलाई यादगार बनाएका छन् ।

एसपी ज्ञवालीलाई विभिन्न पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, संघ/संस्थाका प्रतिनिधिहरूले पनि विदाइ गरेका छन् । उनीहरूले एसपी ज्ञवालीले सर्लाहीको कमाण्ड सम्हालेपछि शान्ति सुरक्षाको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

छोटो समयमा एसपी ज्ञवाली सर्वसाधारण र नागरिक समाजसँग घुलमिल गरेर शान्ति सुरक्षा बनाउने जिम्मेवारीमा लागेका थिए । सोही कारण स्थानीयले ज्ञवालीलाई सम्मानका साथ विदाइ गरेका छन् ।

सर्लाहीमा बेलाबेला धार्मिक द्वन्द्व हुँदै आएको थियो । त्यो विषयलाई एसपी ज्ञवालीले सम्वेदनशील रुपमा लिएर निकै सुक्ष्म रुपमा शान्ति सुरक्षा दिने प्रयास गरेका थिए ।

एसपी ज्ञवालीले दुई जना भारतीय हतियारधारी अपराधिक समूहलाई इन्काउन्टर गरेर पक्राउ गरेका थिए । पाँच वर्षदेखि न्याय नपाएका व्यक्तिलाई न्याय दिलाएका थिए ।

एसपी ज्ञवालीले २४ घण्टाभित्रै २०२ जना फरार अपराधी पक्राउ गरेर सर्लाही जिल्ला अदालतमा पेस गरेका थिए ।

चार वर्षीय बालकलाई अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेका थिए । १२ वर्षीया किशोरीलाई गर्भवती बनाउने व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएका थिए ।

अबैध हुण्डी कारोबारलाई नियन्त्रण गर्न थालेका थिए । सोही क्रममा एसपी ज्ञवालीले करीव २८ लाखसहित हुण्डी कारोबारीलाई पक्राउ गरेका थिए ।

एसपी ज्ञवालीलाई भारतीय समकक्षी सुरक्षा अधिकारीहरूले बिहारमा बोलाएर नेपाल–भारत सिमानामा सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर परामर्श गरेका थिए । कामको गतिलिने तयारी गरिरहेका बेला ज्ञवालीको सरुवा भएको छ ।

यसअघि, एसपी ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बाग्लुङको प्रहरी प्रमुख हुँदा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलताका साथ सम्पन्न गरेका थिए ।

बाग्लुङमा विगतका निर्वाचनमा विभिन्न घटना हुँदै आएको थियो । ज्ञवालीको कुशल कमाण्डले गर्दा बाग्लुङमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । बाग्लुङमा राम्रोसँग कार्यसम्पादन गरेर शान्ति सुरक्षा बनाएको मूल्याङ्कसहित एसपी ज्ञवालीलाई गण्डकी प्रदेश प्रहरीले पुरस्कार समेत दिएको छ ।

प्रहरी मुख्यालयले शुक्रबार एसपी ज्ञवालीसहित १६ जना एसपीहरूको सरुवा निकालेको थियो । त्यसमध्ये ७ जना एसपीको कार्यकाल १ वर्ष पनि पुगेको थिएन । पूर्वाग्रही भएर गृहमन्त्री रवि लामिछाने र आइजीपी बसन्तबहादुर कुँवरले ७ जना एसपीलाई सरुवा गरिदिएका थिए ।

Published : Sunday, 2024 April 7, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया