संसदीय अनुशासन र गरिमालाई कमजोरी नठानियोस्, संसद पूर्णरुपमा अबरोध हुन सक्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै आकस्मिक समय लिएर यादवले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान रहेको बताए ।
गृहमन्त्री रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौं रकम अपचलान गरेको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएका छन् । बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद यादवलाई बोल्न समय दिएका थिए ।
संसदीय छानविन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चिड्याउने गरेर संसदको बैठकमा गृहमन्त्री रवि लामिछाने बसेर सुनिरहेका थिए ।
सांसद यादवले भने, ‘मेरो आग्रह गृहमन्त्रीलाई पनि छ, केही नयाँ गर्छु भनेर आउनु भएको छ । सकेसम्म छिटो संसदीय समिति बनाएर आरोपलाई टङ्गोमा पुर्याउन सहयोग गर्नुहोस् ।’
‘यो विषयमा सत्य तथ्य छानबिन गरेर बाहिर नल्याएको खण्डमा यो आरोपले तपाईंलाई कहिल्यै छोड्नेछैन, जिन्दगीभर लखेट्नेछ’, सांसद यादवले भने ।
कांग्रेसका सांसद यादवले संसदीय समिति बनाएर छानबिन गर्ने कुरा गृहमन्त्रीकै हितमा हुने बताएका छन् । गरिब जनताले सहकारीमा जम्मा गरेको बचत लामिछाने कुनै बेला संलग्न रहेको संस्था गोर्खा मिडियामा आएको देखिएकोले छानबिन आवश्यक रहेको उनले बताएका छन् ।
कांग्रेसका सांसद यादवले श्रममन्त्रीसमेत रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) कृषि सहकारी संस्थाको उपाध्यक्ष रहेको र त्यहाँका निक्षेपकर्ताले चार करोड रुपियाँ फिर्ता नआएको गुनासो गरेको पनि बताएका छन् ।
सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसमेत सञ्चालक रहेको पाइएको उनले बताए । यादवले भने, ‘यो सहकारीबाट पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई भित्र्याइएको छ ।’
‘त्यो भित्र्याउने काम श्रममन्त्रीलगायतको हो भन्ने आरोप छ’, उनले भने, ‘सहकारी ठगी सञ्जाल कसरी फैलिइरहेको छ यो घटनाले पनि देखाउँछ ।’
उनले भने, ‘निष्पक्ष छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ ।’ सांसद यादवले भने, ‘कांग्रेसले संसदीय समिति बनाउने अनिवार्य सर्तका रुपमा माग्द छ । हुन त बेलाबेला अन्य पार्टीका साथीहरूले विभिन्न माग लिएर संसद अबरुद्ध हुने÷गर्ने गरेका इतिहाँस हामीसँग छ ।’
‘कांग्रेस बुझ्दछ । संसदको विधायिकी भूमिका आउँदै गरेका कानूनको महत्व पनि बुझ्द छ । बजेट बनाउने महिना यो हो भन्ने पनि बुझ्द छ’, उनले भने ।
‘कांग्रेस सहकारीका विषयमा आरोपित गृहमन्त्री र सहकारीसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने विषयमा बाहेक अन्य विषयमा लगातार संसद चल्ने कुरामा बाधा पुर्याएको छैन’, उनले भने, ‘कांग्रेसको संसदीय अनुशासन र गरिमालाई कमजोरीका रुपमा नठानियोस् । सरकारले यसलाई कमजोरी नसोँचोस् । संसद पूर्णरुपमा अबरोध हुने अवस्था सिर्जना नगरोस् ।’
‘सहकारीसँग जोडिएर जति कुरा आएका छन् । पात्रका कुरा होस् या शंकाका कुरा होस् । समग्र पीडितका कुरालाई केन्द्रमा राखेर संसदीय छानविन समिति बनाएर अगाडि बढौं’, उनले भने ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया