अहिले कांग्रेस ठूलो पार्टी छ, महिलाहरू कम्मर कसेर क्रियाशील बने बहुमत ल्याउँछौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूको सशक्तिकरण भने भने कांग्रेसले बहुमत ल्याउनसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा मंगलादेवी सिंह फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा देउवाले अहिले कांग्रेस देशको ठूलो पार्टी भएको भन्दै अब बहुमत ल्याउनसक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताए । उनले महिलाहरूलाई देशभरि सशक्तिकरण गर्न नेतृ सिर्जना सिंहसहितका महिला नेतृहरूलाई निर्देशन दिएका छन् ।

उनले समावेशी समानुपातिक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज नभएको बताए । उनले भने, ‘बहुमत प्राप्त गर्न सकेको छैन । बुहमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा भन्ने हो भने । अहिले बेला समावेशी, समानुपतिक आधारमा संविधान भएको हुनाले सबैलाई प्रतिनिधित्व गराउने हिसावले बहुमत आउन गाह्रो छ ।’

सभापति देउवाले भने, ‘त्यसका बाबजुद पनि अहिले हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ । त्यसका लागि महिलाहरूको ठूलो योगदान हुन्छ । महिलाहरूको योगदान नभइ ठूलो हुन सक्दैन । त्यस कारण महिला सशक्तिकरण गर्नुपर्छ ।’

‘पार्टीलाई ठूलो पार्टी मात्रै होइन । बहुमत प्राप्त गर्ने पार्टी बन्न सकोस् भन्ने कामना गर्छ’, उनले भनेका छन् । सभापति देउवाले अहिलेको संविधानले महिलालगायत सबै समुदायलाई समान अधिकार दिएकाले संसारका सबै संविधानमध्ये उत्कृष्ट संविधान रहेको बताएका छन् ।

‘कांग्रेस पार्टी पूर्णरुपमा समावेशी छ, नेपालको संविधान समावेशी छ’, उनले भने, ‘यस्तो काम गरेको, यसका लागि लडेको पार्टीमा आपसी होस्, जेसुकै कारणले होस्, यद्यपि, ठूलो बनेको छ । पार्टी । अहिलेको सबैभन्दा ठूलो पार्टी छ ।’ संविधानअनुसार पार्टीको विधान बनाएको र कांग्रेस पूर्णरूपमा समावेशी पार्टी रहेको देउवाले बताए ।

सभापति देउवाले भने, ‘देवानसिंह राईको छोरी (लक्ष्मी राई) हुनुहुन्छ । उहाँको बाबुको नाम धेरैलाई थाहा छैन होला । उहाँ शहीद हो । उहाँले भोजपुरमा राम्रो काम गर्नुभएको छ । धेरै ठूलो सेवा गर्नुभएको छ जिल्लामा । महिलाहरूको सशक्तिकरणको काममा देशभरि लाग्नु हुनेछ । सिर्जना सिंह लगायत सबैले लाग्नु हुनेछ । भारती सिलवालले पनि राम्रो बोल्नुभएको छ । महिलाहरू क्रियाशील बने भने बहुमत ल्याउने पार्टी हुनेछ । महिलाहरूले कम्मर कस्नुपर्छ ।’

कांग्रेसका नेता प्रकाशमान सिंहले डेमोक्रेसीलाई बलियो बनाउन पुरुष सरह आन्दोलन गर्नुपर्ने कुरा मंगलादेवी सिंहले सिकाएको बताए । स्व.मंगलादेवी सिंहका छोरा समेत रहेका उनले भने, ‘उहाँको जीवनबाट सिक्ने कुरा । मंगलादेवी सिंहले जुन कुरा सुरु गर्नुभयो निरन्तर रुपमा अन्तिम समयसम्म निरन्तरता दिनुभयो । त्यो एउटा विशेषता हो ।’

नेता सिंहले नीति निर्माण भइसकेको अवस्थामा अहिले महिलाहरूलाई कति गाह्रो छभने त्यो बेला बिक्रम संवत १९९७ सालदेखि २००४ सालमा नेपाल महिला संघ गठन गर्दा कस्तो अवस्थामा गर्नुभयो होला भनेर स्मरण गरेका छन् ।

कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले स्व.मंगलादेवी सिंहको आन्दोलनका कारण अरु पार्टी भन्दा कांग्रेस प्रोग्रेसिभ पार्टी बनेको बताएकी छिन् । उनले भनिन्, ‘हाम्रो दस्तावेजले महिला नेपाली कांग्रेसमा अगाडि छ । अगाडि पारिएको छ । वडा तह र समग्र क्षेत्रमा हामीले काम गर्न सक्यौ कि सकेनौं यो कुरालाई मनन् गर्न जरुरी छ ।’

‘पार्टीले त्यसलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्नका लागि अझ अधिकार दिनुपर्ने जरुरी छ’, उपाध्यायले भनिन्, ‘महिलाहरूलाई लागू गराउने बाटोमा अगाडि बढाउन अहिले पनि अझ पार्टीले भूमिका खेल्नुपर्छ ।’

सहमहामन्त्री उपाध्यायले भनिन्, ‘नेपाली कांग्रेसलाई मजबुद बनाउँदा हाम्रो अधिकार पनि मजबुद हुन्छ । यही आमा (मंगलादेवी सिंह)को सन्देश हो ।’

नेपाली कांग्रेस काठमाडौंका सभापति सुबुजकृष्ण बानियाँले कहिल्यै पनि पार्टीले कसलाई कसरी व्यवस्थापन गर्नुपर्छ र कुन ठाउँमा उभ्याउँदा त्यसको व्यवस्थापन हुन्छ भनेर भागबण्डाको रुपमा लिने व्यवस्था गर्ने कुरा नभएको बताए । उनले भने, ‘मेरा र तेरा र अर्काको कसलाई दिँदा ठीक छ ? कसलाई दिँदा अफ्ठ्यारो हुन्छ ? बिरोधाभास काँधमा लिँदैन, कसरी सन्तुलन गरिन्छ ? कसरी सन्तुलनको यात्रा मात्रै तयर गरिन्छ भनेर लिएको हो कि भनेर मेरो बुझाइको कमी होला ।’

नेपाल महिला संघकी अध्यक्ष उषा राउतले स्व.मंगलादेवी सिंहले महिला आन्दोलनमा गरेको योगदानको कदर गरिएको बताएकी छिन् । स्व.सिंहले उठाएको महिलाहरूको मुक्ति, महिला अधिकार, शिक्षा, चेतना, आवाजलाई संघले अगाडि बढाउने उनले बताइन् । महिलाले अधिकार माग गर्दा घर बिगारी भनेर आक्षेप लगाएको अध्यक्ष राउतले स्मरण गरेकी छिन् ।

कांग्रेस नेतृ लक्ष्मी राईले मानिसमा शक्ति रहेको भन्दै दत्तचित्त भएर लाग्नुपर्ने बताइन् । उनले कांग्रेसलाई ठूलो पार्टी बनाउने भनेर संकल्प गरियो भने कांग्रेस ठूलो पार्टी हुने बताइन् ।

नेतृ राईले कांग्रेसले दुईतिहाई बहुमत लिएको इमेजिङ गर्नुपर्ने बताइन् । उनले कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्ने बताइन् ।

कार्यक्रममा लीला कोइराला (धनुषा), लक्ष्मी राई (भोजपुर), अञ्जु बस्नेत (दोलखा), कृष्ण अमात्य (काठमाडौं), चिनीहिरा शाक्य रञ्जित (काठमाडौं), सीता दाहाल (संखुवासभा), धनी श्रेष्ठ (सर्लाह), शारदा बैद्य (कास्की), शान्ता शर्मा (कञ्चनपुर), सोना भण्डारी (काठमाडौं), शशि रिमाल (काठमाडौं), सची रिमाल (काठमाडौं), विष्णुदेवी पुडासैनी (काठमाडौं)लाई सभापति देउवाले सम्मानित गरेका छन् । सम्मानित भएका उनीहरू मंगलादेवी सिंहसँग एउटै संगठनमा सँगै रहेर काम गरेका हुन् ।

फाउण्डेसनले सम्मानित भएका महिला नेतृहरूलाई नगद १५ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

Published : Sunday, 2024 March 31, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया