सहकारी ठगी प्रकरणमा महामन्त्री थापाले गृहमन्त्री लामिछानेलाई दिए जवाफ

चन्द्रौटा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सर्वसाधारणले सहकारीबाट ८० हजार लिए कानून लाग्ने तर, नयाँ पार्टीका ठूला नेताले ८० करोड ठगे कानून लान्दैन भन्न नमिल्ने बताएका छन् ।

शुक्रबार कपिलवस्तुमा नेपाली कांग्रेसको मेची–महाकाली संवादयात्राका क्रममा आयोजित कार्यक्रममा महामन्त्री थापाले स्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको बताए ।

उनले सहकारीको रकम ठगी भएको प्रकरणमा कांग्रेस चुप बस्नु राम्रो नभएको बताएका छन् ।

कांग्रेसका महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गरेर सहकारीको ८० करोड रकम ठगी गर्दा पनि कारबाही नभएको बताए । उनले कानून सबैलाई बराबरी हुनुपर्ने बताएका छन् ।

केही दिन अगाडि गृहमन्त्री लामिछानेले महामन्त्री थापालाई काठमाडौं क्षेत्र नं. ४ मा खुला बहस गरौँ भनेर च्यालेञ्ज गरेका थिए । लामिछानेले थापालाई बाख्रा प्रकरणको कुरा पनि उठाएका थिए । थापाले अहिले आएर लामिछानेलाई कडा जवाफ दिएका छन् ।

अहिलेको परिदृष्यले निर्वाचनअघिको गठबन्धन गलत भएको पुष्टि भएको महामन्त्री थापाले बताएका छन् । उनले अब कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।

Published : Saturday, 2024 March 30, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया