प्रचण्डलाई कांग्रेसको यादले भत्भती पोल्यो, झिनो मतले सरकार बच्यो

काठमाडौं । कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा तेस्रोपटक विश्वासको मत पाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा दाहालले विश्वासको मत पाएका हुन् । दाहालले विगतमा भन्दा निकै कम सांसदको विश्वासको मत पाएका छन् ।

मतविभाजनमा प्रधानमन्त्री दाहालले पाँचदलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन् ।

संसदमा २ सय ६८ सांसदको उपस्थित रहेको छ । दाहालको पक्षमा १ सय ५७ मत परेको छ । विपक्षमा १ सय १० मत परेको छ । १ जना सांसद तटस्थ बसेका छन् ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । नेपाली कांग्रेससहितका दलहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको छैन ।

कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री दाहालले फागुन २१ गते एमालेसहितको ५ दलीय गठबन्धन बनाएका थिए ।

कम्युनिस्ट गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) छन् ।

प्रधानमन्त्री दाहाललाई नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री दाहालको विपक्षमा कांग्रेस, राप्रपा, जनमत पार्टी, लोसपा, जनमोर्चा र नेमकिपाले मत दिएका छैनन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पुस १० गते १ सय ६९ सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए ।

पुस २६ गते विश्वासको मत लिँदा दाहालले प्रतिनिधिसभामा २ सय ६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

राष्ट्रपति निर्वाचनअघि एमाले छाडेर कांग्रेससँग दोस्रो गठबन्धन बनाएका दाहालले चैत ६ गते संसदमा विश्वासको मत लिँदा १ सय ७२ सांसदको समर्थन प्राप्त गरेका थिए ।

प्रधानमन्त्री दाहालले विश्वासको मत पाएर सरकार बच्दा पनि खुसी देखिएका छैनन् । दाहालको अनुहारमा खुसी र चमक देखिएको छैन । दाहाललाई भित्रभित्रै कांग्रेससँगको गठबन्धन तोडेकोमा बेखुसी भएको चर्चा छ ।

Published : Wednesday, 2024 March 13, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया