प्रचण्डका आफ्नै साथीले भने, ‘ओली र शेरबहादुरले घाँटी जोडे भने तपाईँको के हालत हुन्छ ?’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद एवम् उपाध्यक्ष राजेन्द्र पाण्डेले कांग्रेस र एमाले मिलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालत के हुन्छ भनेर चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत दिने क्रममा सांसद पाण्डेले जनतामा प्रधानमन्त्रीप्रतिको विश्वास घटेर गएको बताएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विश्वास नभएको नेता भनेर चित्रण गरेका छन् ।

‘ओली जी र शेरबहादुर जीले घाटी जोडे भने तपाईँको के हालत हुन्छ उ ?’, सांसद पाण्डेले प्रश्न गर्दै भने, ‘त्यो कुरा पनि ख्याल गर्नुहोला ।’

‘कठिन परिस्थितिमा विद्रोह गरेर एकीकृत समाजवादीले सघायो । फागुन २१ गते चार दलीय गठबन्धन बनाउनुभएछ ।’
‘सँगै हिनेको सहयात्री रुखको ठुटोजस्तो बेवारिसे बनाएर खोलामा छोड्नु भएछ’, सांसद पाण्डेले भने ।

उनले संसद् विकास कोषको व्यवस्था बजेटमा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएका छन् ।

कम्युनिस्ट गठबन्धन अर्थात् सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का नेताले प्रधानमन्त्री दाहाललाई चेतावनी दिएपछि यो गठबन्धनको आयु धेरै लामो नरहेको चर्चा भइरहेको छ । नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्री दाहालको साथी हो । साथीले नै आलोचना गरेको छ ।

Published : Wednesday, 2024 March 13, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया