कांग्रेसलाई छाडेपछि प्रचण्डले धेरै सांसदको विश्वास गुमाए, बुधवार कति पाउँछन् मत ?

काठमाडौं । कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र, एमालेसहित १५१ सांसदको समर्थन पाउने सम्भावना देखिएको छ ।

दाहालले बुधवार प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् । दाहालले हतार हतारमा विश्वासको मत लिन लागेका छन् ।

फागुन २१ गते कम्युनिस्ट गठबन्धन बनेको थियो । सत्ता समीकरणमा रहेका ५ दलले दाहाललाई विश्वासको मत दिनेछन् ।

कम्युनिस्ट गठबन्धनमा एमालेका ७६, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी नेपाल (जसपा)का १२ र नेकपा (एकीकृत समाजवादी)का १० सांसद छन् ।

प्रतिनिधिसभामा २७५ जना सदस्य संख्या हुने प्रावधान छ । विश्वासको मत लिन १३८ सांसदको समर्थन आवश्यक पर्छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि दाहाललाई विश्वासको मत दिने सम्भावना छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र जनमोर्चाले दाहाललाई विश्वासको मत दिन्छन् वा दिँदैनन् केही भनेका छैनन् । प्रधानमन्त्री दाहालका लागि जुटेको १५१ आवश्यक बहुमत संख्याभन्दा १४ सिटले बढी छ ।

नेपाली कांग्रेससँग ८७ सिट छ । जनमत पार्टीसँग ७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ४ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी (राउपा)सँग ४ सांसद छन् । राप्रपा र नाउपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने सम्भावना छैन । नाउपाको रेशम चौधरीले समूहले विश्वासको मत नदिने निर्णय गरेको छ । रन्जिता श्रेष्ठको समूहले दाहाललाई विश्वासको मत दिने जनाएकी छिन् ।

यसअघि पुस १० गते प्रधानमन्त्री भएका दाहालले सोही महिनाको पुस २६ गते २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका थिए । आफूसँगको समीकरणमा तोडिएपनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

दोस्रोपटक चैत ६ गते भने दाहालले १७२ मात्रै सांसदको समर्थन पाए । विपक्षमा एमालेसहितको ८९ मत परेको थियो । तेस्रोपटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालले पाउने मत अत्याधिक घट्ने देखिएको छ । कांग्रेसको साथ छाडेपछि प्रधानमन्त्री दाहालले सांसदहरूको समर्थन पनि गुमाउँदै गएका छन् ।

Published : Tuesday, 2024 March 12, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया