एमाले-माओवादीको कम्युनिस्ट गठबन्धनप्रति बेइजिङमा खुसियाली, उपमन्त्रीद्वारा राजदूतसँग भेट

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कम्युनिस्ट गठबन्धन बनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा चीनले खुसी व्यक्त गरेको छ ।

शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीकी उप–मन्त्री सुन हाइ येनले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँग छलफल गरेको बीबीसीले जनाएको छ ।

छलफलमा नेपाली राजनीतिक दलहरूसँग सहकार्य र आदानप्रदान गहिरो बनाउने र नेपाल–चीन सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्नेबारे इच्छा चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको जनाइएको छ ।

श्रेष्ठले नेपालमा भएको पछिल्लो परिवर्तनबारे चिनियाँ उपमन्त्री येनले चासो व्यक्त गरेको बताएका छन् । जनवरी महिनामा नेपालको भ्रमण गरेकी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री येनले त्यसबेला दुई देशको सम्बन्ध बिगार्ने प्रयास भइरहेको आशङ्का एउटा सार्वजनिक कार्यक्रममार्फत् व्यक्त गरेका विवरणहरू प्रकाशमा आएका थिए ।
नेपालमा प्रधानमन्त्री प्रचण्डले केही महिनायता कटु सम्बन्ध रहेको ठानिएका एमाले अध्यक्ष केपी ओलीसँग अघिल्लो सत्ता नयाँ सत्ता गठबन्धनको घोषणा गरेपछि धेरैले त्यसलाई चासोपूर्वक हेरिरहेको पाइन्छ ।

घटनाक्रमबारे नेपालको आन्तरिक राजनीतिमा बढी प्रभाव राख्ने ठानिएको भारतले सार्वजनिक रूपमा प्रतिक्रिया जनाएको छैन । अघिल्लो साता बेइजिङमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले नयाँ सत्तारूढ गठबन्धन बनेको र मन्त्रीमण्डल पुनर्गठन भएको कुरा जानकारीमा लिएको टिप्पणी गरेकी थिइन् ।

उनले चीनले छिमेकी मित्रराष्ट्र र विकास साझेदारको हिसाबले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको भन्दै नेपालका सम्बन्धित पक्षहरूले राजनीतिक स्थिरतालाई आत्मसात् गर्ने उल्लेख गरेको थियो ।

बीबीसीसँग राजदूत श्रेष्ठले भने, ‘उहाँले के कस्तो खालको परिवर्तन हो त्यसबारे केही बुझ्न खोज्नुभएको थियो । मैलै संसदमा कुनै पार्टीको बहुमत छैन । गठबन्धन बनाएरै जानु पर्ने हुन्छ । त्यो गर्दा प्रधानमन्त्रीलाई कतातिर सहज हुन्छ त्यही अनुसार गर्नुभएको होला भन्ने कुरा राखे ।’

चीनका लागि नेपाली राजदूत श्रेष्ठले भने, ‘आन्तरिक कुरा यहाँ बसेर अन्दाज गर्न सकिदैँन् । भइरहेको गठबन्धन भन्दा अर्को खालको गठबन्धनबाट केही गर्न सक्छु भन्ने सोच्नुभयो होला । त्यही भएर नयाँ गठबन्धन बनेको होला जस्तो मलाई लाग्छ ।’

बेइजिङमा भएको उक्त छलफलपछि काठमाडौंस्थित चिनियाँ राजदूतले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर जानकारी गराएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो वेबसाइटमा उपमन्त्री येन र श्रेष्ठबीचको भेटवार्ताको तस्बिरसहित छोटो जानकारी सार्वजनिक गरेको छ ।

त्यसमा सुन हाइ येनले चीन र नेपाल असल छिमेकी र असल मित्र रहेको र दुई देशका नेताहरूको नेतृत्वमा दिगो मित्रताका लागि चीन–नेपालबीच भएको विकास र समृद्धिबारेको रणनीतिक साझेदारी थप प्रगाढ बन्दै गएको चर्चा गरिएको छ ।

‘चिनियाँ कम्युनिस्ट पार्टी नेपालका राजनीतिक दलहरूसँग आदान प्रदान, सहकार्य र राज्य शासनमा आपसी सिकाइ अभिवृद्धि गर्न र चीन नेपाल सम्बन्धलाई निरन्तर प्रवर्द्धन गर्न इच्छुक छ’, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले उल्लेख गरेको छ ।

येनसँगको भेटमा नेपाली राजदूतले देशको आर्थिक र सामाजीक विकासका लागि दीर्घकालीन सहयोग गरेकोमा आभार प्रकट गर्दै एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको चिनियाँ पक्षको भनाइ छ ।

नयाँ गठबन्धन घोषणा भएकै दिन काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकमा ध्रुवीकरण सुरु भएको भन्दै बृहत्तर कम्युनिस्ट एकताको पनि पहल भइरहेको बताएका थिए ।

विगतमा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको दुईतिहाई बहुमतसहितको सत्ता शक्तिमा रहँदा कैयौँ विश्लेषकहरूले वामपन्थी दलहरूबीचको एकतामा बेइजिङको साथ रहेको बताएका थिए ।

लामो समयदेखि बेइजिङले वामपन्थी दलहरूलाई एक ठाउँमा उभ्याउन प्रयास गरिरहेको भन्दै पछिल्लो गठबन्धन निर्माणमा चीनलाई जोडेर कतिपय टिप्पणीहरू पनि आइरहेका छन् ।

उपमन्त्री येनले विभिन्न दलका नेता सहभागी कार्यक्रममा नेपाल चीन सहकार्यबारे कतिपय प्रश्नहरू राखेकी थिइन् ।

आफूसँगको भेटमा चिनियाँ उपमन्त्रीले केही समयअघि आफूले गरेको काठमाडौं भ्रमणको प्रसङ्ग राख्दै नेपालका सबै दलहरूलाई समान दृष्टिकोणले हेर्ने धारणा राखेको राजदूत श्रेष्ठले बताएका छन् ।

यसैबीच चिनियाँ जनमुक्ति सेनाको इन्टरन्याश्ल मिलिटरी कोअपरेशन अफिसका उपप्रमुख मेजर जेनरल झाङ बाओगुन नेतृत्वको टोलीले नेपालमा भेटवार्ता र अवलोकन भ्रमणहरू जारी राखेको छ ।

प्रधानसेनापति प्रभुराम शर्मासँग आइतवार भेटेको उक्त टोलीसँग नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्षबारे छलफल भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शनिवार नेपाल आइपुगेको उक्त सैनिक प्रतिनिधिमण्डलले काठमाडौं, लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यक्रम छ ।

हालैका वर्षहरूमा नेपाल र चीनले सैन्य क्षेत्रमा पनि विभिन्न किसिमका सहकार्यहरू अघि बढाउँदै लगेको पाइन्छ । बीबीसीबाट साभार

Published : Monday, 2024 March 11, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया