मधेशमा एमाले आफैले सरकार बनाउने निर्णय, मन्त्री बनेकै दिन यादव जिल, गठबन्धनभित्र खटपट

काठमाडौं । मधेश प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले)को मधेश प्रदेश कमिटीले निर्णय गरेको छ ।

आइतबार मधेश प्रदेशको रौतहटमा बसेको बैठकले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको मधेश प्रदेशका ईन्चार्ज योगेश भट्टराईले बताए । भट्टराईका अनुसार एमालेको मधेश कमिटीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयसहित केन्द्रमा लेखेर पठाएको बताए ।

एमालेले मधेश प्रदेशमा जसपालाई दवावमा राख्न र बार्गेनिङका लागि आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हुन सक्छ । एमालेको निर्णयले जसपालाई झस्काएको छ । मधेश प्रदेशमा सरकार पाएन भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्न वा छाड्दैनन् केही भनिएको छैन ।

मधेश प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने सर्तमा जनता समाजवादी पार्टी नेपाल (जसपा) केन्द्र सरकारमा सहभागी भएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार उप–प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएर जिम्मेवारी सम्हालेकै दिन एमालेले मधेश प्रदेश सरकारमा दाबी गरेको छ ।

एमालेको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसँग छलफल र संवाद गर्ने भएको छ । मधेश प्रदेशमा अहिले जसपा नेतृत्वको सरकार छ । जसपाले मधेश सरकारको नेतृत्व सुनिश्चितताको माग गर्दै आएको छ ।

केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा समेत सरकार परिवर्तनको तयारी छ । स्पष्ट बहुमत र दलहरूबीच भागबन्डा भइनसकेकोले प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट गठबन्धनको सरकार बनाएको केही दिनभित्र एमालेले मधेश प्रदेशमा सरकार बनाउने निर्णय गरेर हलचल ल्याइदिएको छ ।

Published : Monday, 2024 March 11, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया