माओवादी र एमालेलाई दुई ठूला पद, जसपा र रास्वपा चिल्लै

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष नेकपा (माओवादी केन्द्र) र उपाध्यक्ष नेकपा (एमाले)लाई दिने सहमति बनेको छ ।

सोमबार बालुवाटारमा बसेको माओवादी, एमाले, रास्वपा र जसपाबीच भएको ८ बुँदे सहमतिमा माओवादीले अध्यक्ष पद लिने निर्णय भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । एमालेले उपाध्यक्ष पद लिनेछ ।

एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने पनि सहमित भएको छ ।

नयाँ संयुक्त सरकार गठन प्रक्रियामाअन्य दलहरूसँग पनि संवाद अघि बढाउने उल्लेख गरिएको छ ।

राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने सहमतिमा उल्लेख छ ।

Published : Monday, 2024 March 4, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया