नेपाल एयरलाईन्सले तत्कालै ३ वटा साना जहाज खरिद गर्दै

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स)ले दुर्गम क्षेत्रमा आन्तरिक उडानका लागि छिट्टै तीन वटा जहाज खरिद गर्ने कार्ययोजना अन्तिम चरणमा पुगेको जनाएको छ ।

बुधबार निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गरेर अतिरिक्त तत्कालीन आवश्यक्तालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट खरिद गर्न लागेको जनाएका छन् । ३ वटा साना जहाज खरिद गर्ने कार्ययोजना अन्तिम चरणमा रहेको उनले जनाए ।

‘निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा दिन सकिने, पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

निगमले १० वटा साना जहाज खरिदको तयारी गरिरहेको छ । ती साना जहाज आन्तरिक उडानमा प्रयोग हुनेछन् ।

आन्तरिक उडानका लागि निगमसँग साना जहाज थोरै छन् । सोही कारण धेरै गन्तव्यमा निगम जान सकेको छैन । नयाँ जहाज आउनेवित्तिकै अन्य गन्तव्यहरूमा उडान भर्नेछ ।

Published : Wednesday, 2023 October 18, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया