प्रचण्ड, ओली र लामिछानेको सरकारले दियो जनतालाई ठूलो झट्का

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपियाँ वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपियाँ बढाउने निर्णय गरेको छ ।

बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमका अनुसार पहिलो वर्गको पेट्रोलको मूल्य १७५ रुपियाँ ५० पैसा, दोस्रो वर्गको १७७ रुपियाँ र तेस्रो वर्गको १७८ रुपियाँ कायम भएको छ । काठमाडौं तेस्रो वर्गमा पर्छ ।

डिजेल तथा मट्टितेलको पहिलो वर्गको १५८ रुपियाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपियाँ र तेस्रो वर्गको १६१ रुपियाँ कायम भएको छ ।

निगमले मूल्य निर्धारण गर्दा पहिलो वर्गमा चारआली, विराटनगर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई राखेको छ ।

दोस्रो वर्गको सूचीमा सुर्खेत र दाङ तथा तेस्रो वर्गको सूचीमा काठमाडौं, पोखरा र दीपालयलाई राखेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल सहभागी छन् । सरकारमा चर्का कुरा गर्ने रवि लामिछाने गृहमन्त्री छन् । एमालेका अध्यक्ष ओलीले सरकारलाई मैले नै बनाएको र टिकाएको हुँ भन्दै आएका छन् ।

सरकार बनेको एक महिनामा प्रचण्ड, ओली र लामिछानेको सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर ठूलो झट्का दिएको छ ।

Published : Monday, 2024 April 15, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया