एमसीसी तोकिएकै समयमा परियोजना सम्पन्न हुन्छ : सीईओ एलिस

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग नियोगम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसदले अनुमोदन गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीले स्वीकारेको बताएको छ ।

काठमाडौं भ्रमणमा रहेकी एमसीसीकी सीईओ एलिस अलब्राइटले मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेपालको संसदले गरेको व्याख्यात्मक घोषणा स्वीकारेको बताएकी छिन् ।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा दलहरू विभाजित हुँदा १२ बुँदे व्याख्यात्मक घोषणा गरी संसदबाट अनुमोदन गरिएको थियो ।

एलिसले व्याख्यात्मक घोषणाको समर्थन गरी एमसीसीका परियोजना सहज रुपले अगाडि बढेको बताइन् । उनले यस विषयमा प्रतिक्रिया पनि नेपाल सरकारलाई दिइसकेको समेत जानकारी दिइन् ।

यसअघि पनि काठमाडौंस्थित अमेरिकी दूतावासले पनि १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरेको जनाएको थियो ।

एलिसले पनि परियोजना कार्यान्वयनमा दुवै पक्ष दृढताका साथ उभिएकाले तोकिएकै समयमा परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरिन् । एसीसीको अनुदान र केही नेपाल सरकारको रकममा विद्यीयत प्रसारण लाइन र राजमार्ग स्तरोन्नत्ति परियोजना सञ्चालन हुँदैछन् । त्यसमध्ये अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि धेरै कामहरू अगाडि बढिसकेका छन् ।

प्रसारण लाइन निर्माणका लागि ठेक्कासमेत आह्वान भई ठेकेदारले आवेदनसमेत दिइसकेका छन् । ठेकेदार कम्पनीले रकम कबोल गर्दा तोकिएकोभन्दा धेरै कबोल गरेकाले कसरी ठेक्का सम्झौता गर्ने भन्ने समस्या देखिएको छ । नेपालमा समस्या देखिइएका बेला सीईओ एलिस काठमाडौं उत्रिएकी थिइन् ।

सीईओ एलिसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष खड्गप्रसाद ओली, उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतलाई भेट गरेकी छिन् ।

Published : Tuesday, 2023 October 3, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया