जापानको नाममा कीर्ते गतिविधि गर्ने १४ मेनपावर कम्पनीलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई जापान पठाउन कीर्ते गतिविधि गर्ने १४ मेनपावर कम्पनी निलम्बन गरेको छ ।

सोमबार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको हो ।

केही महिना अगाडि विभागमा उजुरी परेको थियो । प्रारम्भीक अनुसन्धानमा १४ मेनपावरको कीर्तेमा संलग्नता देखिएको विभागले जनाएको छ । कीर्ते गर्ने ती मेनपावरलाई विभागले निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी रहेका छन् ।

विभागका महानिर्देशक मदन दाहालले जापानमा कामदार लैजानका लागि उनीहरूले नक्कली कागजात पेश गरेको बताएका छन् ।

२०७६ सालदेखि केही वर्षभित्रमा यस्तो खालको शंकास्पद कागजात पेश गरेको पाइएको उनीहरूमाथि थप अनुसन्धान जारी रहेको उनले बताए ।

जापानका कामदार भिसामा पठाउनको लागि भन्दै ती मेनपावर व्यवसायीले तालिम लिएको नक्कली प्रमाणपत्र पेश गरेका थिए ।

यो विषयमा विभागमा उजुरी परेपछि विभागका निर्देशक कविराज उप्रेतीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिको छानबिनको निष्कर्षको आधारमा विभागले निलम्बन गरेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो ।

Published : Monday, 2023 October 2, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया