मिराय वेलनेस एण्ड गल्फ रिसोर्टका के–के छन् विशेषता ? कहाँ खुल्यो ?

काठमाडौं । सिजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

शाश्वत धाम र सिजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि आकर्षक गन्तब्य बन्ने विश्वास सिजीले लिएको छ ।

अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सिजी हस्पिटालिटीले जनाएको छ ।

सिजी इन्डस्ट्रियल पार्कभित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन् ।

शाश्वत धामका दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट निकै सुविधाजनक हुने सिजीले जनाएको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवम् सिजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सिजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा रहेको जनाएका छन् । उनले मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको जनाएका छन् ।

मिराया रिसोर्ट सिजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरूलाई मूर्तरुप दिने गरी तयार गरिएको छ । रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ ।

रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ता सुविधाहरू रिसोर्टमा छन् ।

रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा पुग्न सकिन्छ ।

निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न पनि सकिन्छ । रिसोर्टमा विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रमहरू गर्न सकिने सिजीले जनाएको छ ।

Published : Friday, 2023 June 16, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया