निगमको जहाज ९१ यात्रुसहित क्वालालम्पुरबाट भैरहवामा अवतरण

काठमाडौं । नेपाल वायुसेवा निगमले क्वालालम्पुर–भैरहवा सेक्टरमा व्यावसायिक उडान शुरु गरेको छ ।

निगमले जेठ ३० गतेदेखि औपचारिक रुपमा उडान शुरु गरेको हो । उडान नम्बर आरए ४२२ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बिहान ८ बजेर ४० मिटनमा अवतरण भएको थियो ।

भैरहवासम्मका लागि ३१ जना यात्रु र काठमाडौंसम्मको लागि ६० जना गरि ९१ जना यात्रुले यात्रा गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त उडानमा यात्रा गर्ने यात्रुहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, पर्यटन सचिव सुरेश अधिकारी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी, र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डेले स्वागत गरेका थिए ।

मन्त्री किराँतीले नेपाल भू–परिवेष्ठित देश भएकाले विश्वसँग जोडिनको लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बजारको माग अनुसार उडान भर्न निगमले जहाज थप गर्नुपर्ने बताएका छन् ।

Published : Thursday, 2023 June 15, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया