स्वास्थ्य मन्त्रालयका तीन महत्वपूर्ण ठाउँमा डा.बस्नेत, डा.श्रेष्ठ र डा.ठाकुर नियुक्त

काठमाडौं । डा.भुपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उप–कुलपतिमा नियुक्त भएका छन् ।

सरकारले डा.बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उप–कुलपतिको जिम्मेवारी दिएको हो । डा.बस्नेत वीर अस्पतालमा कार्यरत छन् । डा.बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन् ।

न्याम्समा उप–कुलपति लगायतका पदाधिकारी नियुक्त नहुँदा चिकित्सक लगायतका कर्मचारीले लामो समयदेखि तलब भत्ता लगायतका सेवा पाउन सकेका छैनन् ।

आवासीय चिकित्सकहरूले तीन महिनादेखि मासिक निर्वाह भत्ता नपाएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । न्याम्समा फागुन ३० गतेपछि उप–कुलपति लगायतका पदाधिकारी रिक्त छ ।

यसैबीच, राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा.प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गरेर डा.श्रेष्ठलाई केन्द्रको जिम्मेवारी दिएका हुन् ।

डा.श्रेष्ठ वीर अस्पतालमा छातीरोग विशेषज्ञको रुपमा कार्यरत छन् । क्षयरोग केन्द्र लामो समयदेखि निर्देशक विहीन थियो ।

उता, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा.सञ्जय ठाकुर नियुक्त भएका छन् ।

मन्त्री बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै डा.ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएका हुन् । यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए ।

Published : Wednesday, 2023 May 17, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया