अर्थतन्त्र सुधार गर्न अर्थमन्त्रीले बनाए विज्ञ समूह, को–को छन् ?

काठमाडौं । मुलुकको अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूलाई निकै सक्रिय बनाएका छन् ।

डा.महतले अर्थ विज्ञहरूसँग परामर्श गर्ने, सरसल्लाह लिने, अर्थ मन्त्रालयका उच्च कर्मचारीहरूसँग भेटघाट गर्ने लगायतका कार्यहरू गरिरहेका छन् । अघिल्ला कम्युनिस्ट अर्थमन्त्रीहरूले ध्वस्त पारेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व डा.महतको काँधमा आएको छ ।

उता, बजेट पनि आउन लागेको छ । डा.महतलाई बजेट ल्याउनुपर्ने दवाव छ । उनलाई बजेट मुलुकको अर्थतन्त्रलाई उकास्नुपर्नेछ ।

यसैबीच, डा.महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा विज्ञहरुको एक समूह तयार गरेका छन् ।

डा.महतले डा.विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा.गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गरेका छन् । तीन जनालाई राखेर डा.महतले विज्ञ सल्लाहकार समूह बनाएका छन् ।

अर्थ मन्त्रालयमा डा.पौडेल र डा.पाण्डे अवैतनिक रुपमा अर्थमा खटिनेछन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा.भट्टलाई काजमा अर्थमन्त्रालय ल्याउन लागिएको छ ।

डा.पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार थिए ।

डा.पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका डा.भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् । भट्ट राष्ट्र बैंकको प्रवक्ताको भूमिकामा समेत छन् ।

Published : Thursday, 2023 April 20, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया