‘प्रसाद २’ चलचित्रका निर्माताविरुद्ध काठमाडौं प्रहरीमा जोहरी दर्ता

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंमा चलचित्रका निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसूरको जाहेरी दर्ता भएको छ ।

फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपियाँको चेक बाउन्स र ठगी आरोपमा मुद्दा दर्ता गराएका हुन् ।
थापा नेपाली चलचित्र ‘प्रसाद २’ का निर्माता हुन् ।

फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर आफूलाई प्रलोभनमा पारी थापाले एक वर्षअघि रकम लगेको आरोप पाण्डेले लगाएका छन् ।

पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेकाले जाहेरी दिएको पाण्डेले बताएका छन् । थापाले माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चार वटा चेक दिएका थिए ।

चेक साट्न जाँदा पर्याप्त मौज्दात रकम नभएकाले आफूलाई झुक्याएको पाण्डेले उजुरीमा जनाएका छन् । ‘प्रसाद २’मा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।

प्रसाद २ चलचित्र चैत २४ गते रिलिजको तयारीमा रहेका बेला निर्माता थापाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । पीडित पाण्डेले फिल्मको सेन्सर रोक्न पनि सेन्सर बोर्डमा निवेदन दिएका छन् ।

Published : Monday, 2023 March 13, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया