ग्लोबल आईएमई देशकै ठूलो बैंक बन्यो

काठमाडौ‌ । ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू गाभिएको छ ।

सोमबार काठमाडौंमा विशेष कार्यक्रम गरेर ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू गाभिएर एकीकृत कारोबार सुरु भएको हो ।

ग्लोबल आईएमई र बिओकेले समान सेयर अनुपात (१ः१)मा आपसमा गाभिएका हुन् ।

‘ग्लोबल आईएमई बैंक लिमिटेड’को नामबाट सञ्चालनमा आएको बैंकको चुक्ता पुँजी अब करिब ३५ अर्ब ७७ करोड रुपियाँ पुगेको छ ।

५ वटा वाणिज्य बैंक, १० विकास बैंक र ५ फाइनान्स कम्पनी गाभिएर अहिलेको ग्लोबल आईएमई बनेको छ ।

ग्लोबल आईएमईमा विलिन भएका वाणिज्य बैंकहरूमा कमर्स एन्ड ट्रस्ट, जनता, लुम्बिनी र बैंक अफ काठमान्डू हुन् ।

एकीकृतपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपियाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपियाँ पुगेको छ ।

कुल निक्षेप ४ खर्ब रुपियाँ, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपियाँ पुगेको छ ।

बैंकका अध्यक्ष चन्द्र ढकालले मर्जर तथा एक्विजिसनकै माध्यमबाट अधिकांश वित्तीय सूचकमा ग्लोबल आईएमई बैंक नेपालकै पहिलो बैंक बन्न सफल भएको बताएका छन् ।

ग्लोबल आईएमई बैंकले मुलुकको बैंकिङ प्रणालीको आधारमा बजार हिस्साको १० प्रतिशत ओगट्नेछ ।

ठूलो बैंक बनेसँगै लगानीका आधारमा तीन प्राथमिकता निर्धारण गरेको ढकालले बताएका छन् ।

तीन प्राथमिकतामा घर घरमा रेमिट्यान्स प्राप्त गर्न सक्ने वातावरणलाई थप विस्तार गर्ने, पर्यटन क्षेत्रमा चन्द्रागिरि जस्तै ७ प्रदेशमा केवलकार बनाउने र प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने अध्यक्ष ढकालले बताएका छन् ।

बैंकको नयाँ सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमान्डूको तर्फबाट २ जना रहेका छन् ।

बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमईकै रत्नराज बज्राचार्य रहेका छन् ।

मर्जर पश्चात् यो बैंकले कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयबाट वित्तीय सेवा प्रदान गर्नेछ । मर्जरपछि ४० लाखभन्दा बढी ग्राहक पुगेका छन् ।

Published : Monday, 2023 January 9, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया