ग्लोबल र बिओकेले पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु (बिओके)को एकीकृत कारोबार पुस २५ देखि हुने भएको छ ।

दुवै बैंकले मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एक–आपसमा मर्जरसम्बन्धी प्रस्ताव पारित गरेसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं. २८ कमलादीमा हुने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १:१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

बैंक अफ काठमाण्डुको १०० कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी रू. ३४ अर्ब ४१ करोड पुग्नेछ ।

बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ ।

मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ग्लोबल आइएमई बैंकका सिइओ रत्नराज बज्राचार्य रहनेछन् ।

मर्जरपश्चात् बैंक अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन् ।

बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाण्डुका तर्फबाट दुई जना रहने सहमति भएको थियो ।

Published : Thursday, 2023 January 5, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया