कुमारी र एनसीसीबीच मर्जर, कुमारी बैंकको नामबाट कारोबार शुरु

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले एकीकृत कारोबार सुरु गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणा र साबिकको नेपाल क्रेडिट एन्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले संयुक्त रूपमा एकीकृत वित्तीय कारोबारको उद्घाटन गरेको जनाइएको छ ।

दुई बैंकबीच मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता रहेको अवस्थामा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको बताएका छन् ।

कुमारी बैंकले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीका लागि नवीनतम बैंकिङ उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरूमा आकर्षक सुविधा पनि ल्याउने उनले बताएका छन् ।

मर्जरपछि बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपियाँ पुगेको छ । कुल निक्षेप तीन खर्ब दुई अर्ब रुपियाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपियाँ पुगेको बैंकले जनाएको छ ।

तीन सय ६ शाखा, ४७ एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैंकिङ गरी चार सय १५ कार्यालय तथा तीन सय ४५ एटिएममार्फत सेवा दिने उल्लेख छ ।

Published : Monday, 2023 January 2, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया