ग्लोबल आइएमई र बिओकेबीच एकीकरण, पुस २५ बाट एकीकृत कारोबार

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू ‘बिओके’बीच पुसको अन्तिम साताबाट एकीकृत कारोबार हुने भएको छ ।

दुई बैंकले पुस २५ गतेबाट एकीकृत कारोबार गर्नेछन् । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको छ ।

यसअघि बैंकहरूले मर्जर सम्झौता गर्दा ग्लोबल आइएमई बिओके नाम राखेका थिए । एकीकृत कारोबार ग्लोबल आइएमई बैंकको नामबाट हुनेछ ।

असार २ गते दुई बैंकबीच मर्जर प्रयोजनको प्रारम्भीक सहमति भएको थियो । कात्तिक २८ गते सेयर स्वाप अनुपात १ः१ कायम गर्ने गरी अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।

मंसिर २३ गते भएको दुवै बैंकका साधारणसभाले मर्जरलाई अनुमोदन गरिसकेको छ । मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपियाँ कायम भएको छ ।

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ ।

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक भएको छ ।

Published : Monday, 2023 January 2, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया