मेगा बैंककी सीईओ रविनाले जागिर छाडिन्, पोखरेल आए

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविना देशराज श्रेष्ठले अवकास लिएकी छिन् ।

श्रेष्ठले स्वयच्छिक अवकास लिएको बैंकद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठलाई बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ ।

श्रेष्ठको बिदाइ कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
श्रेष्ठले बैंकमा १३ वर्षभन्दा बढी अवधि सेवा गरेकी छिन् ।

यसैबीच, मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् ।

सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुन् ।

बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल वैशाख १ गतेबाट पूर्वसञ्चालन अबस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बनेका छन् ।

पोखरेल स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरूको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशक अघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बनेका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्शियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए ।

Published : Monday, 2022 December 26, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया