अभिनेत्री अनाया सोनीको मिर्गौला फेल

मुम्बई । बलिउड अभिनेत्री अनाया सोनीले मिर्गौला फेल भएपछि दैनिक संकटपूर्ण भएको जनाएकी छिन् ।

सोनीले दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेको बताएकी छिन् । उनले समाजिक संजालमार्फत आफ्नो मिर्गौला फेल भएको जानकारी दिएकी थिइन् ।

घटना थाहा पाएपछि उनलाई कसैले पनि काम दिएका छैनन् । सोनीले आफूले काम पाउन समेत छोडेको बताएकी छिन् ।

सोनीले आफ्नो मिगौला फेल भएको खबर सामाजिक सञ्जालमा पोस्ट गरेपछि समस्या झनै बढेको जनाएकी छिन् ।

अस्वस्थताका कारण धेरै कामहरू उनको हातबाट फुत्किएका छन् । लगातारको डायलासिसको खर्च र कामको कठिनाइले उनलाई निकै समस्या परेको छ ।

सोनीले आफूले काम गरिरहेको टिभी सिरियल ‘मेरे साईं’को सुटिङ स्थलबाट डायलासिसका लागि दुई दिनअघि मात्रै फर्किएको बताएकी छिन् । उनले डायलासिसका कारण नियमित काम गर्न नसकेको र डायलासिस हुने दिन सेटमा पुग्न मुस्किल रहेको बताएकी छिन् ।

अभिनेत्री सोनीले हप्तामा तीन पटक डायलासिस गर्नुपर्ने बताएकी छन् । उनी मिर्गौलाको खोजिमा छिन् ।

प्रत्यारोपणका लागि मिर्गौला फेला नपर्दासम्म डायलासिस जारी रहने उनको भनाइ छ । प्रत्येक डायलासिसमा पन्ध्र सय भारतीय रुपियाँ शुल्क लाग्ने गर्छ । यसबाहेक औषधिको मूल्य फरक रहेको उनले बताएकी छिन् ।

‘यो मेरो उपचार खर्च मात्रै हो, घरभाडा लगायत अन्य धेरै खर्च भइरहेको छभने स्वास्थ्य अवस्थाका कारण आम्दानी पनि निकै घटेको छ’, उनले भनेकी छिन् ।

‘पहिले म मलाडमा बस्ने गर्थे । हाल अस्पताल आउँदा जाँदा लाग्ने खर्च जोगाउन मैले अस्पताल नजिक बस्ने गरेको छु’, सोनीले भनेकी छिन् ।

सामाजिक सञ्जालमा आफ्नो मिगौला फेल भएको बताएर उनी उपचारको लागि कोष जम्मा गर्न चाहन्थिन् । तर, त्यो सबै उनका लागि समस्या बनिदियो ।

धेरैले उनको पोस्टको आलोचना गरेका छन् । थोरैले उनलाई सहयोग पनि गरेका छन् । अब उनी जहाँ अडिसनका लागि वा कामको लागि जाने गर्छिन् उनको स्वास्थ्य अवस्थाका कारण काम पाएकी छैनिन् ।

सन् २०१५ मा उनको दुवै मिर्गौला फेल भएको थियो । त्यसपछि उनका बावुले एउटा मिगौला दिएका थिए । गत वर्ष त्यो मिगौला पनि कोभिडका कारण फेल भएको उनी बताउँछिन् ।

उनको आमालाई मधुमेह भएका कारण मिगौला दान गर्न असमर्थ रहेको बताएकी छिन् । उनी चाँडै निको भएर आफ्नो परिवारलाई मद्दत गर्न चाहन्छिन् । उनले मिर्गौलाका लागि निवेदन पनि दिएकी छन् ।

अभिनेत्री सोनीले अकबर–बीरबल, मेरे साई, क्राइम पेट्रोल जस्ता टिभी शोमा काम गरिसकेकी भारतीय टेलिभिजन अभिनेत्री हुन् ।

Published : Thursday, 2022 December 15, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया