अमेरिका र पोर्चुगलको काम गर्ने दुई दलालहरू ललितपुरमा पक्राउ

काठमाडौं । प्रहरीले अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा दुई जना दलालहरूलाई पक्राउ गरेको छ ।

रामेछापको रामेछाप नगरपालिका–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ सुविधानगर, तिनकुने बस्ने ३० वर्षीया धनकुमारी ओलीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपियाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपियाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेशराजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको छ ।

धनकुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपियाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपियाँ ठगी गरी सम्पर्क विहीन भएकोमा प्रहरीले धनकुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Published : Monday, 2022 November 28, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया