ओलीले प्रचण्डसहितका माओवादीलाई जेल हाल्ने तयारी गरेको सभापति बानियाँको खुलासा

हेटौँडा । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरूलाई कसरी जिताउन सकिन्छ भनेर चिन्ता गर्नुपर्ने बताएका छन् ।

मकवानपुरमा चुनावी प्रचार प्रसारका क्रममा बुधबार आयोजित कार्यक्रममा बोल्दै बानियाँले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

उनले भने, ‘अहिले यत्रतत्र सर्वत्र यो गठबन्धनलाई हाम्रा विरोधी पक्षले यो गठबन्धन अप्राकृतिक छ, गलत छ, कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन नै मिलेन भनेका छन् ।’

‘लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन कुनै पनि मिलेन भनेका छन्’, उनले भने, ‘एउटा कुरा के छभने ती भन्नेहरूले भ्रम सिर्जना गर्नेहरूलाई हामीले चिर्नुपर्छ ।’

सभापति बानियाँले भने, ‘बृहत शान्ति सम्झौताका जगमा हिजो विद्रोह गर्ने र दमन गर्ने पक्षमा शान्ति सम्झौता भएको हो । त्यो शान्ति प्रक्रियाको जगमा गठबन्धन भएको छ ।’

‘गणतन्त्रको पक्षमा गठबन्धन भएको छ । स्थायी शान्तिको लागि गठबन्धन भएको छ’, सभापति बानियाँले भने, ‘शान्ति प्रक्रिया टुंगो लगाउन र सत्यनिरुपण र बेपत्ताको टुंगो लगाउन गठबन्धन भएको छ । छिनोफानो गर्नको लागि गठबन्धन भएको छ ।’
उनले भने, ‘केपी शर्मा ओलीले साढे तीन वर्ष गर्न नसकेको कार्यको लागि माओवादी र कांग्रेसको शान्ति प्रक्रियासहितको गणतन्त्रको स्थायित्वको लागि गठबन्धन भएको छ । शान्ति र समृद्धिको लागि पनि गठबन्धन हो ।’

‘कांग्रेस र माओवादीबीच भएको शान्ति सम्झौताको किनारामा साँक्षी रहेको एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएको छ’, उनले भने, ‘तत्कालीन समयमा हस्ताक्षर गर्नेमा माधवकुमार नेपाल पनि हुनुहुन्छ ।’

सभापति बानियाँले भने, ‘गठबन्धन चित्त बुझ्दैन भने गिरिजाबाबुलाई भेट्न माथी जानुपर्छ । किन भने गिरिजाबाबुले शान्ति सम्झौता गर्नुभएको हो । माओवादीसँग गरेको गठबन्धन कांग्रेसले कसैले भन्छ भने यो गठबन्धन गलत छैन । होइन भने शान्ति प्रक्रिया नै गलत छ भन्नुपर्छ ।’

‘मानवताको सिद्धान्तमा मान्छे मर्नबाट रोकिनको लागि आजको गठबन्धन भएको छ’, उनले भने, ‘हिजोका दिनमा गरिव सर्वहाराको उन्नति हुन्छ भनेर कम्युनिस्टको गठबन्धन भएको थियो । । कम्युनिस्टको बहुमत आएकै हो । ६ वटा प्रदेशमा कम्युनिस्टको शासन आएकै हो ।’

उनले भने, ‘ओलीले नेतृत्वको गरेको तत्कालीन कम्युनिस्ट भनेको कमाउनिस्ट मात्रै भयो । कमाउनतिर लागे । ओलीका कारण विभिन्न काण्डमा माओवादी पनि फसे । ओलीको हावादारी कुरामा फसे । रेलका कुरा, पानीजहाजका कुरा आए ।’

उनले साढे तीन वर्षमा ओलीले शान्ति प्रक्रियाको कुरा अगाडि नबढाएको बताए । प्रचण्डले कम्युनिस्टको नाममा ओलीसँग गठबन्धन गर्नु हुँदैन भनेर ओलीलाई नक्कली कम्युनिस्ट भनेर शान्ति प्रक्रिया र संविधानको रक्षाका लागि कांग्रेससँग गठबन्धन गरेको सभापति बानियाँले बताएका छन् ।

विगतमा ओलीले प्रचण्डसहितका माओवादी नेताहरूलाई जेल हाल्ने मनसाय देखिएको सभापति बानियाँले बताएका छन् । बानियाँले तत्कालीन वाम गठबन्धनमा इमान्दार नभएको बताए । उनले अहिलेको गठबन्धनमा कांग्रेस इमान्दार रहेको बताए ।

Published : Wednesday, 2022 October 19, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया