हजारौं यात्रुको पक्षमा वायुसेवा सञ्चालकहरूको निर्णय, देउवाले दिए धन्यावाद

काठमाडौैं । जिम्मेवारी बोध गरेर वायुसेवा सञ्चालक संघले आन्तरिक उडानहरूलाई रोकेको छैन ।

संघले विभिन्न माग राखेर बुधबारदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री कार्यालयको पहलमा संघका पदाधिकारी र प्राधिकरणबीच भएको वार्तामा उडानहरू यथावत राखेर सम्वाद जारी राख्ने सहमति भएको हो ।

सरकार र संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने सहमति भएको संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वायुसेवा सञ्चालकहरूको मागप्रति गम्भीर भएर वार्ता गर्न आदेश दिएका थिए । त्यसपछि वायुसेवा सञ्चालकहरू पनि जिम्मेवार बनेर हवाइ जहाज र हेलिकप्टर उडान बन्द गर्ने निर्णयबाट पछाडि हटेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यावहारिक निर्णय भएको भन्दै संघले बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि भएका निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरूले उद्धार र नियमित उडानहरू बन्द गर्ने भएका थिए ।

प्राधिकरणले आन्तरिक उडान गर्ने कम्पनीहरूले तोकिएको आधार विमानस्थलमा (अपरेटिङ बेस) रात्रिविसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन गरेको थियो ।

हवाईजहाजको हकमा असार १३ गते र हेलिकप्टरको हकमा असार ७ गतेबाट लागू हुने गरी निर्देशन दिइएको थियो ।

पूर्वसूचना बिना दिएको निर्देशन कार्यान्वयनमा कठिनाइ हुने भन्दै वायुसेवा सञ्चालकहरूले यसैको विरोध स्वरूप उडान बन्द गर्ने निर्णय गरिएको थियो ।

त्रिभुवन विमानस्थल बाहेक चन्द्रगढी, विराटनगर, जनकपुर, रामेछाप, भरतपुर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेत र सिमरामा रात्रिविसान गर्न सकिने प्राधिकरणले सुुझाएको छ ।

हाल १० वटा कम्पनीको साना तथा ठूला गरी ५२ जहाज र ११ कम्पनीको ३८ हेलिकप्टर सञ्चालनमा छन् ।

निजी वायुसेवा कम्पनीहरूले आन्तरिक उड्डयन क्षेत्रमा मात्रै करिब ४० अर्ब रुपैयाँ लगानी गरेका छन् ।

संघले दैनिक करिब ३ सयभन्दा बढी उडानमा १० हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ ।

Published : Wednesday, 2022 June 22, 9:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया