पत्तासाफ भएपछि अध्यक्षबाट राजीनामा दिएर मिश्र टापकसे

काठमाडौं । स्थानीय तहको निर्वाचनमा पत्तासाफ भएपछि विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

मिश्रले बुधबार विज्ञप्ति जारी गरेर पदबाट राजीनामा दिएको जनाएका छन् ।

उनले भनेका छन्, ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ ।’

‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’, मिश्रले भनेका छन्, ‘म पार्टीको साधारण सदस्य रहिरहनेछु ।’

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दलका नेताहरूलाई गालीगलौज गर्दै आएका मिश्रलाई जनताले शून्य बनाएर सबक सिकाएका छन् ।

मिश्रको पार्टीले एउटा वडाध्यक्ष र केही सदस्य मात्रै जितेको छ ।

राप्रपासँग निकट मानिने मिश्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि वार्ता र सम्वाद गरेका थिए । मिश्रलाई राजसंस्था समर्थक र विदेशीको उक्साहटमा पार्टी खोलेको आरोप पनि लाग्ने गरेको छ ।

आफ्नै पार्टी मिलाउन नसक्दा मिश्र विवादमा पर्ने गरेका थिए । कहिले मिश्रलाई आफ्नै पार्टीका नेताले कारबाही गर्ने, कहिले मिश्रले आफ्नै पार्टीका नेतालाई कारबाही गर्ने नौटंकी पनि देखाएका थिए ।

Published : Wednesday, 2022 May 25, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया