थापाले पाए राखेपाको जिम्मेवारी, सदस्य सचिवको काम गर्ने

काठमाडौं । कुलबहादुर थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिवले गर्ने कामको जिम्मेवारी पाएका छन् ।

राखेपको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थापालाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो । राखेपका सदस्य सचिवको अनुपस्थितिमा थापाले सदस्य सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्नेछन् ।

राखेप अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद्) को गत माघ २४ गतेको निर्णयानुसार राखेपको सदस्य सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषदका वरिष्ठ कर्मचारीलाई दिने निर्णय भए बमोजिम राखेपका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार तपाईलाई दिएको छु ।’

थापासँग राखेप मातहतका विभिन्न विभाग र शाखमा प्रमुख भइ काम गरेको अनुभव छ ।

यसअघि थापा प्रशासन विभाग र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा रहिसकेका छन् ।

थापाले प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायतमा प्रमुख भइ काम गरिसकेका छन् ।

समारोह विज्ञका रुपमा परिचित थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रहि काम गरेका छन् ।

नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । थापाले बिहीबार पद वहाली गर्ने छन् ।

Published : Wednesday, 2022 February 16, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया