तेक्वान्दो संघमा सरकारी कर्मचारी श्रेष्ठको उदण्ड हर्कत, एकलौटी गर्न नपाएपछि ताण्डब

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सरकारी कर्मचारी समेत रहेका तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले नेपाल तेक्वान्दो संघविरुद्ध हर्कत गर्न थालेका छन् ।

श्रेष्ठले आफ्नो पदीय मर्यादा विपरीतका कार्य गर्न थालेपछि खेलाडी र प्रशिक्षकहरू चिन्तित हुन पुगेका छन् । खेलाडी र प्रशिक्षकहरूका लागि भन्दा पनि श्रेष्ठले आफ्नो व्यक्तिगत हकहितमा धेरै चासो दिने गरेको आरोप छ ।

तेक्वान्दो संघले खेलाडी र प्रशिक्षकका लागि राम्रो काम गर्न थालेपछि प्रमुख प्रशिक्षक श्रेष्ठलाई तनाब भएको छ । संघले नियमानुसार काम गर्न थालेपछि श्रेष्ठको अबैध रुपमा खाइपाइआएको सुविधा कटौटी भएपछि तनाबमा परेका हुन् ।

संघको कामबाट विचलित भएका श्रेष्ठले ध्वाँस देखाउँदै तेक्वान्दो संघलाई लगाम लगाउन खोजेका छन् । उनले संघलाई विघटन गराउनेसम्मका हर्कत गरेका छन् ।

कम्युनिस्ट समर्थक प्रमुख प्रशिक्षक श्रेष्ठले संघले पाउने सम्पूर्ण अनुदान तत्कालीन सदस्य सचिव केशव विष्ट र पूर्व सदस्य सचिव रमेश सिलवालको आडमा आफूले मात्रै लिने गरेका थिए ।

संघले विगत ३ वर्षदेखि परिषदबाट अनुदान पाउन सकेको छैन । कोटेश्वरमा रहेको श्रेष्ठको डोजाङलाई लाभ हुने गरेर मात्रै कार्य गर्दै आएका छन् ।

अनुदानको रकम जिल्लामा मेहनत गरेका प्रशिक्षकहरूको लागि केही नगरी श्रेष्ठ आफैले मात्र लाभ लिने गरेका छन् । उनले विदेश घुम्ने कार्यदेखि पाउनुपर्ने सबै सुविधा लिइसकेका छन् ।

श्रेष्ठले संघको नाममा २० पटकभन्दा बढि पटक रकम परिषदबाट झिकेका छन् ।

तेक्वान्दो संघका पूर्वउपाध्यक्षले केही समयअघि काठमाडौं जिल्लाका डोजाङहरूलाई तेक्वान्दो खेल सामग्री वितरणका लागि प्रमुख प्रशिक्षक श्रेष्ठलाई जिम्मा दिएका थिए ।

श्रेष्ठले आफ्नै पसलबाट तीन किसिमका कम गुणस्तरका सामग्रीहरू सस्तो मूल्यमा खरिद गरेर महँगो विलभरपाइ बनाएर भुक्तानी लिएको आरोप छ ।

संघको रेफ्री कमिटीमा रहँदा राष्ट्रिय प्रतियोगितामा रेफ्री खटाउने क्रममा कम रेफ्री खटाएर बढि व्यक्तिको नामबाट भत्ता र सुविधा लिने गरेको परिषदमा चर्चा छ । सोको प्रमाण परिषदद्वारा आयोजना हुने बृहत राष्ट्रिय खेलका तेक्वान्दो प्रतियोगिताका फाइलहरू छानविन गरेमा प्राप्त हुनेछ ।

प्रमुख प्रशिक्षक श्रेष्ठले आफ्ना परिवारका सदस्यहरूलाई तेक्वान्दो संघको दुरुपयोग गरेर अमेरिका पठाएको आरोप पनि छ ।

प्रमुख प्रशिक्षक श्रेष्ठ पहिला संघमा सचिव पनि थिए । सरकारी कर्मचारी संघमा बस्न नपाउने कानूनी व्यवस्थाका कारण सचिव छाडेर प्रमुख प्रशिक्षकमा रहेर लाभ लिँदै आएका छन् ।

प्रमुख प्रशिक्षक श्रेष्ठले आफूलाई लागेका आरोपहरूमा सत्यता नरहेको बताएका छन् । उनले भने, ‘यो सबै झुठ हो । मैले मन्त्रीदेखि सबैलाई भनेको छु । चित्त बुझ्दैन भने मलाई निकाले भैहाल्यो नि ?’ प्रमुख प्रशिक्षक श्रेष्ठले समाचारका विषयमा सोध्ने क्रममा राम्रोसँग जवाफ समेत दिएनन् । उनले कुरा गर्दागर्दै बीचमा फोन काटेका थिए ।

Published : Monday, 2022 February 14, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया