देउवासँग कलाकर्मीले मागे कोरोनाविरुद्धको खोप, माग पूरा गर्ने आश्वासन

काठमाडौंं । कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ ।

बिहीबार कलाकर्मीहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्र क्षेत्रलाई सहयोग गर्ने आश्वसन दिएका हुन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन सांस्कृतिक संघका सभापति तीर्थ थापाको नेृतृत्वमा ५०–६० जना कलाकर्मीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

चलचित्रका कलाकर्मीले लकडाउन र निषेधाज्ञाले कलाक्षेत्र धरासायी बनेको भन्दै फिल्म हलहरू लामो समयदेखि बन्द रहँदा कलाकारहरू काम विहीन बनेको जानकारी गराएको संघका सभापति थापाले बताए ।

कलाक्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोग आवश्यक रहेको प्रधानमन्त्री देउवालाई जानकारी गराएको थापाले बताएका छन् ।

५औं पटक प्रधानमन्त्री भएका देउवालाई संघको तर्फबाट कलाकर्मीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

संघको तर्फबाट सभापति थापाले प्रधानमन्त्री देउवालाई सम्मान पत्र समेत प्रदान गरेका छन् ।

संघकी महासचिव रोशनी कार्कीले प्रधानमन्त्री देउवासँग कलाकर्मीलाई कोरोनाबिरुद्धको खोप सहज रुपमा उपलब्ध गराइदिन माग गरेको जानकारी दिइन् । प्रधानमन्त्री देउवाले कलाकर्मीहरूलाई खोपेको छिट्टै व्यवस्था गरिदिने आश्वासन दिएका छन् ।

संघका महामन्त्री शिवशंकर रिजालले प्रधानमन्त्री देउवाको राष्ट्रिय भ्रमणमा कलाकारलाई पनि सहभागी गराउनु अनुरोध गरेको जानकारी दिएका छन् ।

देउवाले आफ्नो राष्ट्रिय भ्रमणमा कलाकारलाई समेट्ने बचन दिएको रिजालले बताए ।

सभापति थापा, महामन्त्री रिजाल, रोसनी केसी, रबिन्द्र खड्का, मोहन निरौला, भुवन केसी, शीतल केसी, गोपाल ढकाल, गोपालकाजी कायस्था, नरेश पौडेल लगायतका संस्कृतिकर्मी तथा चलचित्रकर्मीहरू बालुवाटार पुगेका थिए ।

Published : Friday, 2021 July 23, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया