कांग्रेसको मुख्यालयले दियो नेताहरूलाई आदेश, काठमाडौंमा बसेर मोज गर्नेहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमविरुद्ध पुस १३ गते भव्य प्रदर्शन गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्ला कार्यसमितिहरूलाई बिहीबारनै परिपत्र गरेर पुस १३ गते १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा एकसाथ प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टीको केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमका विरुद्धमा पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा क्षेतीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरिएको छ’, परिपत्रमा भनिएको छ ।

‘जिल्ला समितिका साथीहरू एवम् भ्रातृ र शुभेच्छुक संस्थाका सबै साथीहरूलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रित गर्नु/गराउनु हुन यो परिपत्र पठाइएको छ’, परिपत्रमा भनिएको छ, ‘प्रदर्शनलाई ब्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन विशेष तयारी गर्नु/गराउने हुनेनै छ । प्रदर्शनको एकरुपताका लागि आवश्यक नाराहरू केन्द्रबाट परिपत्रमा पठाइनेछ ।’

‘१३ गतेको प्रदर्शन पश्चात पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम जिल्ला कार्यसमितिको आयोजनामा गर्न समेत यहि परिपत्रमार्फत निर्देशनानुसार अनुरोध गर्दछ’, मुख्यसचिव पौडेलले भनेका छन् ।

यसैबीच, कांग्रेसले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वसांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी भइ भव्यताका साथ कार्यक्रम सफल बनाउन निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले केन्द्रीय नेता र पूर्वसांसदहरूलाई निर्वाचन क्षेत्रका प्रदर्शनमा सहभागी हुन आदेश दिएको हो ।

काठमाडौं उपत्यकामा बसेर जिल्ला र क्षेत्रको गतिविधिमा खासै ध्यान नदिने नेताहरूलाई कांग्रेसले यस पटक आदेश दिएर खैलाबैला मच्चाइदिएको छ ।

सभापति शेरबहादुर देउवाले काठमाडौंमा बसेर पार्टीको राजनीति नहुनेभन्दै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वसांसदहरूलाई क्षेत्रको कार्यक्रममा केन्द्रित हुन आदेश दिएका हुन् ।

Published : Saturday, 2020 December 26, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया