पुस १३ को प्रदर्शनमा सहभागी बन्न देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरिएको घटनाका विरुद्ध पार्टीले गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।

सभापति देउवाले शनिबार अपील जारी गरेर पुस १३ गते १६५ वटा निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ’, उनले भनेका छन्, ‘त्यसमा सकृय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।’

‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं’, देउवाले भनेका छन् ।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ’, उनले भने, ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

उनले अपीलमा भनेका छन्, ‘पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

कांग्रेसले पुस १३ गते देशभरि एक साथ प्रदर्शन गर्दै छ । प्रदर्शनहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्र केन्द्रित रहनेछन् ।

Published : Saturday, 2020 December 26, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया