ललितपुरको बागमतीमा कम्युनिस्टको दाहिने हात भाँच्चियो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

बागमती । ललितपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लोकप्रिय नेताद्वय राजकुमार लामा र ओमप्रसाद तिमल्सिना ‘आकाश’सहितका झण्डै दुई सय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ललितपुरको बागमती गाउँपालिकामा शनिबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपाका स्थानीय लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाका वडाध्यक्षका उम्मेदवार लामाले २८ वर्षदेखिको कम्युनिस्टहरूसँगको सम्बन्ध तोडेर कांग्रेसमा प्रवेश गरेका हुन् । लामा स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट बागमती गाउँपालिकाको वडा नं. ४ बाट वडाध्यक्षमा उम्मेदवार बनेका थिए ।

तिमल्सिना बागमती गाउँपालिकाको वडा नं. ५ बाट वडाध्यक्षमा उम्मेदवार बनेका थिए । २०५२ सालदेखि माओवादीको कथित सशस्त्र संघर्षमा लागेका तिमल्सिना कांग्रेसमा प्रवेश गरेका हुन् ।

लामा र तिमल्सिनालाई कांग्रेस प्रवेश गर्नबाट रोक्न नेकपा ललितपुरका जिल्ला नेता र उर्जामन्त्री वर्षमान पुनका सहयोगीहरू लागेका थिए । तर, लामा र तिमल्सिनाले कसैको प्रवाह नगरी कांग्रेसमा प्रवेश गरेका छन् ।

लामा र तिमल्सिनासँगै नेकपाका स्थानीय झण्डै दुई सय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

नवप्रवेशहरूलाई स्वागत गर्दै कांग्रेसका नेताहरूले पार्टीप्रति वफादार भएर संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् । कम्युनिस्टले जस्तो कांग्रेसले नेता कार्यकर्तालाई अन्याय नगर्ने नेताहरूले बताएका छन् ।

नेकपाबाट प्रवेश गरेका नेवप्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेताहरू ऋषिराम घिमिरे, खेमप्रसाद घिमिरे, रविन्स शर्मा, गणेश केसी, रामकृष्ण हुमागाइँ, क्षेत्रीय सभापति राजन घिमिरे, सानुकान्छा मोक्तान, प्रभाकर पोखरेल, सानुभाई पहरी, प्रदेश निर्वाचन क्षेत्र १ सभापति सुन्दरमान थिङ, प्रदेश निर्वाचन क्षेत्र २ सभापति रामकृष्ण लामा ‘ईन्द्र’ लगायत झण्डै एक हजार नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, विष्णु तिमल्सिना, गोदावरी नगरपालिका–७ का वडाध्यक्ष गिरीप्रसाद तिमल्सिना, ६ नम्बर वडाका वडाध्यक्ष विष्णुमान महर्जन, बागमती गाउँपालिकाका वडाध्यक्ष विजयकुमार लों, तीर्थ घलान, तिलक बोम्जन लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Saturday, 2020 December 19, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया